कठमाडौं । लोकप्रिय गायिका राधिका हमालको शब्द, सङ्गीतमा नेपालका ६ सफल साङ्गीतिक जोडीको प्रस्तुति रहेको तीज गीत ‘हेरिस्यो न’ सार्वजनिक भएको छ । पतिपत्नीबिचको माया प्रेम, सद्भावलाई जोडेर तयार पारिएको यो गीतमा एउटा पारिवारिक, सामाजिक सन्देश प्रवाह गर्न खोजिएको छ ।
बाहिरका पछि लाग्नेहरू धेरै हुन्छन् तर आफ्नी श्रीमती र श्रीमानबिचको मायाप्रेम सदैव प्रगाढ बनाउनका लागि सन्देश प्रवाह गरिएको यो गीतमा नेपालका सफल साङ्गीतिक जोडीहरू प्रस्तुत भएका छन् ।
गायिका राधिका हमाल र उनका श्रीमान् कृष्ण पुनको निर्माणमा तयार भएको गीतमा कुन्ती मोक्तान र शीला बहादुर मोक्तान, माण्डवी त्रिपाठी र विपिन आचार्य, जुनु रिजाल र रामचन्द्र काफ्ले, लक्ष्मी मल्ल र श्रीकृष्ण बममल्ल, देवी घर्ती र राजु ढकाल, पूर्णकला बिसी र धन केपीको जोडीले स्वर दिएका छन् भने आफैं मोडलिङमा पनि प्रस्तुत भएका छन् ।
सो गीतको सङ्गीत संयोजन पुरुषोत्तम न्यौपानेको रहेको छ । म्युजिक बैङ्क नेपालको प्रस्तुति रहेको ‘हेरिस्यो न’ गीतको म्युजिक भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन्। भिडियोमा राधिका हमाल र कृष्ण पुनकी छोरी सफल पुनको नृत्य तथा अभिनय रहेको छ ।
भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन् भने प्रकाश धमलाले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियो गायिका हमालको अफिसियल युटुब च्यानलबाट बजारमा आएको छ ।
भिडियो हेर्नुहोस्