Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गठबन्धनको सम्बन्ध अटुट, ६०-४० का लागी रस्साकस्सी (खास खबर)

गठबन्धनको सम्बन्ध अटुट, ६०-४० का लागी रस्साकस्सी (खास खबर)

  • शुक्रवार, श्रावण २० २०७९

  • 876
    SHARES

  • गठबन्धनको सम्बन्ध अटुट, ६०-४० का लागी रस्साकस्सी (खास खबर)
    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सहमत भएका छन् । 
     
    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा चुनावी तालमेलको सहमति जुटेको हो । यद्यपि कसलाई कति सिट दिनेबारे टुङ्गो लागिसकेको छैन । सिट बाँडफाँटको गृहकार्य गर्न ११ सदस्यीय कार्यदल समेत बनेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् । 
     
    यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् । चुनावी गठबन्धन अटुट रहने भएपनि सिट बाँडफाँडमा भने दलहरुबीच रस्साकस्सी पर्ने देखिएको छ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले केही प्रतिशत तलमाथि भएपनि ६०/४० को भागबण्डा हुनै नसक्ने दाबी गर्नुभएको छ । 
     
    नेकपा एकीकृत समाजवादीले पनि आफूलाई सम्मानजनक रुपमा सिट चाहिने दाबी गरिरहेको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालले मंसिर ४ गतेको दिन निकै महत्त्वपूर्ण रहेको भन्दै आवश्यक ठाउँमा तालमेल गर्ने र एक्लै लड्ने ठाउँमा आफ्नो तयारी गर्नेबारे सहमति जुटाउनुपर्ने बताउनुभयो । 
     
    सत्तागठबन्धन दलहरुबीचको सम्बन्ध थप झाँगिँदै गएपछि प्रतिपक्षी दल नेकपा एमालेमा भने सान्नाटा छाएको छ । एमालेले सत्ता गठबन्धन संविधान विपरितदेखि अवैधसम्मको आरोप लगाउँदै आएको छ । एमालेका नेता महेश बस्नेतले अहिलेको सरकार राष्ट्र हित विपरीतका गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै जनताले निर्वाचनमार्फत हिसाब चुक्ता गर्ने दाबी गर्नुभयो । 
     
    मुलुकमा लामो समयदेखि विद्यमान राजनीतिक दलहरूका लागि यसवर्षको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन निकै चुनौती बनेको छ । पछिल्लो समय स्वतन्त्र र भर्खरै स्थापित भएका दलहरूले जनताको मन जित्दै गएको पाइएको छ । अझै दलहरू नसुध्रिए र बाचा गरेअनुसार यो तीन महिनामा पनि काम नगरे उनीहरूको भविष्य अँध्यारो सुरुङ तर्फ जाने पक्का जस्तै छ । 
     


    शुक्रवार, श्रावण २० २०७९०८:३०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij