काठमाडौं । प्रहरीले छापामार शैलीमा नख्खु-एकान्तकुनाको वानवे हटाएको भन्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन आफैं गएर पुनः सुरु गर्नुभएको छ ।
मंगलबार बिहान १० बजे प्रहरीले आफ्नो कार्यक्षेत्रमा महानगरले हस्तक्षेप गरेको भन्दै नख्खु र एकान्तकुनामा महानगरले बनाएको वानवे हटाएको थियो।
नेपाल प्रहरीका आइजिपी धिरज प्रताप सिंहकै निर्देशनमा प्रहरीले उक्त क्षेत्रको वान वे हटाएको थियो।
प्रहरीले हटाएको वानवेलाई केही समयपछि मेयर महर्जन नगरप्रहरीसहित गएर उक्त क्षेत्रमा पुनः एकतर्फी सुरु गर्नुभएको हो ।
यो क्षेत्रमा वान वे सुरु गरेदेखि दुर्घटना र सवारी जाम शून्य भएको दाबी गर्दै मेयर महर्जनले स्थानीयले महानगरको कामलाई पुरा साथ दिएको बताउनुभयो ।
उहाँले आइजी सिंहलाई आफूले पहिलो पटक ललितपुरमा वान वे नगरेको स्मरण गर्दै चार चार पटकसम्म वान वे गर्दा सुरुमा प्रहरीलाई पत्र पठाएका जिकिर गर्नुभयो ।
‘चार–चार ठाउँमा वान वे बनाएर सवारी आवागमन सहज बनाउँदा केही नबोल्ने। हामीले पत्र पठाउँदा पत्रको केही जवाफ पनि नदिने तर अहिले छापामार शैलीमा साइन बोर्ड र सूचना बोर्ड किन झिक्नुभयो,’ उहाँले आइजी सिंहलाई प्रश्न गर्नुभयो ।
उहाँले प्रहरीलाई चुनौती दिँदै भन्नुभयो ‘तपाईँहरूले बोर्ड हटाएको ठाउँमा म आफैं आएर अहिले पुन ‘वान वे’ सुरु गरेको छु। अब चै नझिक्नुहोला। प्लिज डु नट डिस्टर्ब मी।’
बढ्दो सवारी चापलाई ध्यानमा राखेर ललितपुर महानगरपालिकाले साउन १० गतेबाट नख्खु पुलबाट गायत्री पेट्रोल पम्प हुँदै एकान्त कुनातर्फ आउने र भनिमण्डल चोकबाट नख्खु चोकतर्फ जाने चार पाङ्ग्रे सवारीसाधनलाई वान वे गरेको थियो।
ट्राफिक विज्ञ, स्थानीयवासी तथा वडा र सरोकारवालाको सुझाव अनुसार एकान्तकुना क्षेत्रमा सवारी आवागमन सहज बनाउन नख्खु पुलबाट गायत्री पेट्रोल पम्प हुँदै एकान्त कुनातर्फ आउने २ सय ७९ मिटर र भनिमण्डल चोकबाट नख्खुचोकतर्फ आउन २५२ मिटर क्षेत्र एकतर्फी गरिएको मेयर मर्जनले जानकारी दिनुभयो ।
महानगरले यसअघि झम्सिखेल, पाटनढोका, पाटन दरबार क्षेत्र वान वे बनाइसकेको छ।