काठमाडौं । आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.४९ अङ्कले बढेको छ । कारोबार समयदेखि बढ्न थाले पनि अन्तिम समयमा घट्ने प्रयास गरेको नेप्से बन्द हुँदासम्म दोहोरो अङ्कले बढेको हो ।
यसक्रममा आज ४ अर्ब ९७ रुपैयाँ बराबरको कारोबार भएर १ करोड १९ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज बजार बढेपनि तीनवटा समूहमा भने गिरावट आएको छ । निर्जीवन बीमा समूह, उत्पादनमूलक र अन्य समूहमा गिरावट आएको हो । हिजो मंगलबार नेप्से परिसूचक २३ अङ्कले बढेको थियो । यस्तै, हिजो ३ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
उत्पादनमूलक समूह २४ अङ्कले घट्दा अन्य समूह ३ अङ्कले र निर्जीवन बीमा समूह ०।५५ अङ्कले घटेको छ । यीबाहेक अन्य समूहमा भने सुधार आएको छ । विकास बैङ्क समूह ८५ अङ्कले बढ्दा होटेल, लघुवित्त समूह ७० अङ्कले र टुरिजम समूह ६४ अङ्कले बढेको छ ।
यसैगरी, जलविद्युत समूह २९ अङ्कले बढेको छ भने जीवन बीमा समूह १५ अङ्कले बढेको छ । बजार बढेको दिन विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३ रुपैयाँ बढेर ३६७ रुपैयाँ पुगेको छ ।
यसका साथै, राष्ट्र उत्थान लघुवित्त वित्तीय लिमिटेडको सेयर मूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता ११ सय ७१ रुपैयाँ पुगेको छ । यसक्रममा आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०६ अङ्क बढेको छ । यस्तै, एक्सेल विकास बैङ्कको सेयर मूल्य समेत ९ प्रतिशतभन्दा बढीले बढेको छ ।