काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९-८०को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । एक कार्यक्रमका बीच सार्वजनिक भएको नीति तथा कार्यक्रममा बोर्डले बुक बिल्डिङका लागि अटोमिटिक इलेक्ट्रोनिक सिस्टम बनाउने उल्लेख छ ।
बुक बिल्डिङ प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटिक इलेक्ट्रोनिक सिस्टम प्रयोगमा ल्याउने बोर्डले जनाएको छ ।
बजेटमा उल्लेख भएका १ अर्ब सोभन्दा बढी र पूँजी ५ अर्बभन्दा बढी कारोबार गर्ने प्राकृतिक स्रोतको प्रयोग गर्ने कम्पनीलाई सार्वजनिक निष्कासन गर्ने व्यवस्था कार्यान्वयन अगाडि बढाउने घोषणा पनि बोर्डले गरेको छ ।
नवप्रवर्तनका लागि पूँजी तथा व्यावसायिक ज्ञान परिचालन प्राइभेट गर्ने इक्विटी तथा भेन्चर क्यापिटल क्षतिपूर्ति कोषको व्यवस्था गरेर त्यसको जोखिममा आधारित सुपरिवेक्षणमा ‘म्यानुअल’ लागू गर्ने नीति पनि बोर्डले लिएको छ ।
वस्तु विनिमय बजार (कमोडिटी एक्स्चेन्ज) को नयाँ आवेदन माग गर्ने र लाइसेन्स दिने घोषणा पनि बोर्डले गरेको छ यसअघि दुई पटक आवेदन माग भएकोमा खारेज भएको थियो ।
थप धितोपत्र दलाल व्यवसायी लाइसेन्स दिने र दोस्रो बजार पूर्ण रूपमा विद्युतीय कारोबारमा आधारित बनाउने घोषणा पनि बोर्डले गरेको छ । नयाँ उपकरण, सर्ट सेलिङ, इन्ट्रा डे ट्रडिङको अध्ययन गर्ने योजना पनि ल्याएको छ ।