काठमाडौं । सभामुख अग्नि सापकोटाले सांसदहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा सभामुखले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरुलाई आग्रह गर्नुभएको हो ।
बैठकमा सभामुख सापकोटाले भन्नुभयो, ‘कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ । तसर्थ संसदका बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु ।’
सांसदहरुलाई मास्क लगाउन आग्रह गर्दैगर्दा सभामुख आफैंले भने मास्क लगाउनुभएको थिएन। संसद बैठक सुरु हुनुभन्दा अगाडि भने उहाँले मास्क लगाउनुभएको थियो ।
नेपालमा सोमबार मात्रै ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म सक्रिय संक्रमितको संख्या ३५३४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।