काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरु गरेको छ ।
आज सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेटदेखिका सिसिटिभीका गतिविधिहरूमा विशेष जोड दिएर अध्ययन गरिरहेको समितिका एक सदस्यले बताएका छन् ।
‘बजेट निर्माण प्रक्रियासँग सम्बन्धित रहेर हामीले अनुसन्धान गरिरहेका छौँ । हामी अहिले अर्थ मन्त्रालयदेखिको मूल ढोकादेखि त्यहाँ जडान गरिएका सिसिटिभीका फुटेजमा नै केन्द्रित छौँ’ समितिका सदस्यले भने ।
शनिबार राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र शनिबार नै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थसचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको उनले बताएका छन् ।
अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरूसँग शनिबार नै छलफल गर्ने कार्यतालिका रहेको पनि उनले बताएका छन् ।