काठमाडौँ – गैरआवासीय नेपाली संघले सदस्यता शुल्क र महाधिवेशन प्रतिनिधि छनौटलाई निशुल्क गर्नको लागि सैद्धान्तिक सहमती प्रदान गरेको छ।
अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न संघको ७४ औँ भर्चुअल बैठकले निर्वाचनमा अनलाइन मतदानको व्यवस्था गर्न उत्कृष्ट नीति तर्जुमा गर्ने समेत निर्णय गरेको छ।
यस्तै अन्तर्राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको योग्यता तोक्ने सहमति पनि बैठकमा भएको छ।
बैठकले निशुल्क सदस्यता वितरण, निशुल्क महाधिवेशन प्रतिनिधि छनौट र अनलाइन मतदानको व्यवस्था गर्नको लागि संघका महासचिव डा. हेमराज शर्माको संयोजकत्वमा एक कार्यदल पनि गठन गरेको छ।
कार्यदलमा सचिव गौरीराज जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ र निवर्तमान प्रवक्ता तथा विधान संशोधन समितिका संयोजक भुषण घिमिरे रहेका छन्।
साथै कार्यदलले आवश्यकता अनुसार अन्य सदस्यहरु थप गर्न सकिने बताइएको छ।
कार्यदलले अध्ययन प्रतिवेदन तयार पारी संघको पदाधिकारी बैठकमा पेश गर्नु पर्नेछ। संघले उक्त प्रतिवेदनलाई अन्तिम रुप दिई विशेष साधारण सभामा पेश गर्ने छ।
यस अघि विभिन्न मिडियाहरुमा आएका भ्रामात्मक समाचारहरुको संघले खण्डन गरेको प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिएका छन्।