काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कम्युनिस्टहरूसँग गठबन्धन आवश्यक नरहेको भन्दै आफ्नो क्षेत्र सुरक्षित नभए विद्रोह गर्ने चेतावनी दिनुभएको छ ।
केन्द्रीय कार्य समितिको बैठकमा नेता बस्नेतले केन्द्रबाट गठबन्धन गरे पनि नगरे पनि आफूलाई मतलब नभएको तर सिन्धुपाल्चोकमा भने आफ्नो क्षेत्र नछाड्ने दाबी गर्नुभयो ।
बस्नेतको भनाइ थियो, ‘म गठबन्धनको विरोधी होइन । गर्नुस् नगर्नुस् मलाई मतलब पनि छैन । तर, सिन्धुपाल्चोकमा मेरो क्षेत्र कसैलाई छाड्दिनँ । मेरो सिट सुरक्षित भएन भने विद्रोह गर्छु ।’
बस्नेतको निर्वाचन क्षेत्र सिन्धुपाल्चोक-१ हो । सो क्षेत्रबाट सभामुख अग्निप्रसाद सापकोटा निर्वाचित हुनुभएको छ । वाम गठबन्धनबाट सापकोटा जित्दा बस्नेत दोस्रो हुनुभएको थियो । यसअघि उहाँले सो क्षेत्रबाट दुईपटक चुनाव जितिसक्नुभएको छ । गठबन्धन हुँदा सापकोटाका लागि सो सिट पार्टीले छाड्न सक्ने खतरा भएकाले उहाँले अहिले नै विद्रोहको चेतावनी दिनुभएको हो ।