काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच आज हुने भनिएको भेटवार्ता स्थगित भएको छ । पार्टीको आन्तरिक विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदनमाथि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबारदेखि छलफल प्रारम्भ हुने भनिएको थियो ।
तर, अन्तिम समयमा आएर दुई अध्यक्षबीचको भेटवार्ता स्थगित भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । भेटवार्ता स्थगित हुनुको कारण भने थापाले खलाउन चाहनुभएन । अब मंगलबार अध्यक्षद्वयबीच छलफल हुने उहाँले जानकारी दिनुभयो ।
पार्टीभित्र उत्कर्षमा पुगेको विवादमा समाधानको विन्दु नभेटिएपछि ३० साउनमा विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले एक हप्तामा अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा सुझाइएको बुँदाका बिषयमा दुई अध्यक्षले समान धारणा तय गरेपछि यसलाई सचिवालय र स्थायी कमिटीबाट पारित गराइने बताइएको छ ।