काठमाडौं । राष्ट्रिय सभा सदस्य सांसद दिलकुमारी रावल थापा (पार्वती)ले त्रिभुवन विश्व विद्यालयमा प्रश्न पत्र सम्बन्धी भएको बेथिति रोक्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । आज राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद रावलले त्रिभुवन विश्व विद्यालयको गत वर्षको स्नातकोत्तर परीक्षा र यस वर्षको परीक्षामा एउटै प्रश्न दोहोरिएको विषय बाहिर आएकाले यस्तो खालको बेथिति सरकारले रोक्नु पर्ने बताउनुभएको हो ।
सांसद अनिता देवकोटाले संविधानले व्यवस्था भए बमोजिम तीन नै तहको सरकार नचलेको बताउनुभयो । उहाँले तीन तहका सरकारबीचको अन्तर सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयताको सिद्धान्तका आधारमा संविधानको व्यवस्था भएता पनि यसको पालना समेत नभएको बताउनुभयो । देवकोटाले संविधानको रक्षाको लागि नागरिकलाई केन्द्रविन्दुमा राखेर राज्य सञ्चालनमा तीन तहका सरकारको ध्यान जानु पर्ने बताउनुभयो ।
त्यस्तै, सांसद इन्दु कडेरियाले वर्तमान सरकारले तुइन विस्थापित गर्ने कार्यलाई प्राथमिकता नदिँदा वर्षैपिच्छे महाकाली नदीमा तुइनबाट खसेर मानिसहरूले ज्यान गुमाउनु परेको बताउनुभयो । उहाँले सरकारले तत्काल महाकाली नदीको ११ स्थानमा ओली सरकारले तुइन बनाउने योजना अनुसार तुइन निर्माण कार्य अगाडि बढाउनु पर्ने माग राख्नुभयो ।
सांसद खिमलाल देवकोटाले मुलुकमा सरकार नै नभएको आभास भइरहेको बताउनुभएको छ । उहाँले सरकार भए पनि नभएको जस्तै देखिएको भन्दै ललितपुरको भैसेपाटीको ५ सय मिटर सडक लथालिङ्ग भएर ६ वर्ष देखि हिलाम्मे हुँदा समेत ध्यान नगएको बताउनुभयो । सांसद देवकोटाले ६ वर्ष सम्म सांसदहरूको कुरा उठाउँदा समेत बन्न नसक्नुको कारण भौतिक पूर्वाधार मन्त्रीले संसद्मा जवाफ दिनु पर्ने माग गर्नुभयो ।
त्यस्तै सांसद नन्दा चपाईले शिशु अवस्थामा हुर्कंदै गरेको संघीयता माथि प्रश्न उठ्ने गरी प्रदेश सरकारले काम गरेको बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीको बाबुआमाको नाममा प्रतिष्ठान खोलेर कोषमा बजेट मार्फत रकम जम्मा गर्नु दुःखद भएको बताउनुभयो ।