Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

  • शुक्रवार, आषाढ २४ २०७९

  • 373
    SHARES

  • एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । बजेटमाथि छलफल गर्नका लागि बसेको बैठकमा एमालेले बजेट त्रुटिपूर्ण रहेको बताउँदै अवरोध गरेको हो ।
     
    प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दलले मध्यकालीन बजेट खर्च संरचना नल्याएको, बजेटमा कानून विपरीत तोकिएकोभन्दा बढी आन्तरिक ऋण उल्लेख गरेको र पूर्वाधार विकास बजेटबारे यथार्थ जानकारी दिन माग गर्दै संसद् अवरुद्ध गरेको हो ।
     
    गण्डकीका नेकपा एमालेका सांसद तथा पूर्वभौतिक विकासमन्त्री रामशरण बस्नेतले अर्थमन्त्री रामजी बरालले आगामी आर्थिक वर्षको कानून विपरीत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेको आन्तरिक ऋणको सीमा उल्लङ्घन गरेको बताउनुभयो । यसबारे आयोगले असार १३ गते प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र पठाइसकेको छ ।
     
    अर्थमन्त्री बरालले बजेट व्यवस्थापनका लागि ९ अर्ब २३ करोड रुपैयाँ प्रदेश सरकारबाट सङ्घ सरकारबाट र ५ अर्ब ९ करोड प्रदेशबाट राजश्व उठाउने बताउनुभएको थियो । त्यस्तै, बजेटमा बरालले २ अर्ब (१ अर्ब आन्तरिक र १ अर्ब नेपाल सरकारबाट) ऋण लिने उल्लेख गर्नुभएको थियो । तर, आयोगको नियमअनुसार राजश्व बाँडफाँड र आन्तरिक राजश्वबाट प्राप्त हुने रकमको १२ प्रतिशत सम्म मात्रै ऋण लिन पाइन्छ ।
     
    तर, गण्डकी प्रदेशले तोकिएको भन्दा २८ करोड ऋण लिने उल्लेख गरेपछि आयोगको पत्रानुसार प्रतिपक्षी दल एमालेले संसदमा जवाफ मागेको हो । 
     
    त्यस्तै, संसदमा एमालेले मध्यकालीन खर्च संरचना पुस्तिका नल्याएकोबारे पनि प्रश्न उठाएको छ ।
     
    सबैभन्दा बढी विवादित बनेको पूर्वाधार विकास बजेटबारे पनि नेकपा एमालेले अर्थमन्त्रीसँग जवाफ मागेको छ । नीति तथा कार्यक्रम तथा वार्षिक बजेट पुस्तिकामा पनि समावेश नभएको तर, सम्बोधन गरिने सूचना पाएकाले त्यसबारे यथार्थ बाहिर ल्याउन उनीहरूको माग छ ।
     
     ११ बजेबाट सुरु भएको बजेट छलफल १ घण्टाका लागि स्थगित भए पनि दलहरूबिच सहमति जुट्न नसक्दा सुरु हुन सकेको छैन ।


    शुक्रवार, आषाढ २४ २०७९०२:५५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij