काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने अडान राखेको छ । उहाँमाथि छानबिनका लागि संसदीय समिति बनाउने भन्ने विषयमा दलहरू सहमत भएका छन् ।
सत्तारुढ दुई प्रमुख दल कांग्रेस र एमालेले समिति गठन गर्नुअघि अर्थमन्त्री शर्माले संसद्बाट जवाफ दिन पाउनुपर्ने मत राखेका छन् । तर एमालेले अस्वीकार गरेको छ ।
सर्वदलीय बैठकमा छानबिन समितिमा रहने सदस्यको लागि दलहरूसँग नाम माग गरिएको छ । आफूहरू नाम दिन तयार रहेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । तर, अर्थमन्त्रीले राजीनामा दिनुपर्ने उहाँको भनाइ छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नै संसदीय छानबिन समिति गठनको तयारी भइरहेको छ । प्रमुख प्रतिपक्षी एमालेले भने अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने नभए बर्खास्त गर्नुपर्ने माग अघि सारेको छ । एमालेका प्रमुख सचेतक भट्टराईले पहिला अर्थमन्त्रीबाट शर्मा हटेपछि संसदीय समितिले छानबिन गर्नुपर्ने बताउनुभएको छ ।
एमालेले संसद्मा अर्थमन्त्री शर्मालाई बहिष्कार गर्दै आएको छ । आज पनि अर्थमन्त्री शर्मालाई संसद्को रोष्ट्रममा बोल्न नदिने प्रमुख प्रतिपक्षी एमालेले तयारी गरेपछि प्रतिनिधिसभाको ११ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म पनि बस्न सकेको छैन । अर्थमन्त्री जनार्दन शर्मासम्बन्धी विवादले गर्दा संसद् बैठक अवरुद्ध हुने भएकाले बस्न नसकेको हो ।
यसअघि ११ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछि २ बजेका लागि तोकिएको थियो । तर अहिलेसम्म पनि प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन । यसबारे अहिले पनि संसद्मा रहेका प्रमुख दलहरूबीच छलफल चलिरहेको छ ।