काठमाडौं । नेकपा (एमाले)को भातृसंगठन राष्ट्रिय युवा संघमा आबद्ध व्यक्तिहरूले राहदानी विभाग घेराउ गरेका छन् । आइतबार(आज) काठमाडौंको त्रिपुरेश्वरस्थित विभागको कार्यालयअगाडि प्रदर्शन गरिएको हो ।
राहदानी वितरणमा भएको ढिलासुस्ती र सेवाग्राहीले व्यहोर्नुपरेको सास्तीविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ ।
आज बिहान जुलुससहित पुगेका युवा संघ कार्यकर्ताहरुले त्रिपुरेश्वरस्थित विभागको गेट अगाडि भेला भएर प्रदर्शन गरे । प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगार दे, कि पासपोर्ट दे’, ‘महँगीले सतायो, राहदानीले रुवायो’, ‘राहदानी मेरो अधिकार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनमा सहभागीले विभागमा ज्ञापनपत्र पनि बुझाएका छन् ।