काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव छुट्टाछुट्टै बाटोमा हिड्न तयार भएको समाचार बाहिरिएको छ ।
सिंहदरबारमा भएको दुई नेताबीचको वार्ताका क्रममा आ–आफ्नो बाटो लाग्ने सहमति बनेको बताइएपनि यसलाई बाबुराम पक्षले भने अस्वीकार गर्दै आएको छ ।
भट्टराईले पार्टीमा सँगै काम गर्न गाह्रो भइरहेकोले अलग्गिने प्रस्ताव गरेपछि अध्यक्ष यादवले सहमति जनाएको जसपाका यादव पक्ष नेताहरुले बताएका छन् । तर, बाबुराम भट्टराई निकट केन्द्रीय कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने सञ्चारमाध्यममा भ्रमको खेती भइरहेको बताउनु भयो ।
त्यस्तै उहाँले पार्टीमा डा. भट्टराईको बहुमत रहेको दाबी गर्दै अध्यक्ष यादवको जालझेल र षडयन्त्रले सिंगो आन्दोलनलाई घाटा पुगिरहेको जिकीर गर्नुभयो ।
भट्टराईले तत्कालीन नयाँ शक्ति लिएर संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गर्नुभएको थियो । हाल अध्यक्ष भट्टराईलाई कार्यकारिणी सदस्य महिन्द्रराय यादव, राजकिशोर यादवले पनि साथ दिइरहेका छन् ।
यता, उपेन्द्र यादव पक्षीय केन्द्रीय कार्यकारिणी सदस्य युवराज कार्कीले भट्टराई र यादव अलग्गिने सहमति भएको दाबी गर्नुभएको छ । अध्यक्ष यादवले भट्टराईलाई मिलेर जाने गरेको प्रस्ताव उहाँले स्वीकार नगरेको बताउँदै कार्कीले सम्मानजनक रुपमा बिदाई हुन खोजेको दाबी गर्नुभयो ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेसँगै विवाद चुलिएको थियो । मन्त्री बनाउने कारबाही गर्ने अधिकार पनि अध्यक्ष आफैँले राखेका छन् । यादवको यही निर्णयका कारण पार्टीको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई असन्तुष्ट बन्नुभएको हो ।
भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आग्रह गर्नुभएको थियो । पार्टीबाट भट्टराई छुट्टिएसँगै मन्त्रीहरु पनि फिर्ता नहुने संकेत देखिएको छ ।
जसपाभित्र देखिएको विवादपछि अध्यक्ष यादव माहोल आफ्नो पक्षमा बनाउन सक्रिय बन्नुभएको छ । भट्टराई एक्ल्याउँदै पार्टीबाट बहिगर्मन गर्ने यादवको रणनीति रहेको स्पष्ट देखिएको छ ।