एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस महामारी दुई वर्षभित्र साम्य हुन सक्ने बताएको छ । डब्लूएचओका प्रमुख टेड्रोस एधानोमले सन् १९१८ मा देखिएको स्पेनिस फ्लू सकिन दुई वर्ष लागेको सम्झिँदै कोरोना महामारी दुई वर्षभित्रमा सकिन सक्ने बताएका हुन् ।
टेड्रोसले शुक्रवार जेनेभामा बोल्दै अहिले प्रविधि र विज्ञानको विकास भएको कारण कोरोना झन् छोटो समयमा सकिन सक्ने बताए । विश्वको संयुक्तताका कारण भाइरस एउटा देशबाट अर्को देशमा चाँडै फैलन सक्ने सम्भावना भए पनि प्रविधिले संक्रमण नियन्त्रणमा लिन सहयोग पुर्याउने उनले बताए ।
संक्रमण रोक्न राष्ट्रिय एकता र राष्ट्रव्यापी ऐक्यवद्धताको अवधारणा अपनाउनु पर्नेमा पनि टेड्रोसले जोड दिए । कोरोना भाइरसका कारण हालसम्म ८ लाख मानिसले ज्यान गुमाइ सकेका छन्। त्यस्तै २ करोड २७ लाखभन्दा बढी मानिस संक्रमित छन् ।
बीबीसीका अनुसार टेड्रोसले यस्तो महामारीको समयमा पीपीई लगायत अन्य सुरक्षा उपकरणमा भ्रष्टाचार गर्नेहरूलाई अपराधीको संज्ञा दिएका छन् ।