काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरु फिर्ता हुन नमानेपछि पार्टीमा किचलो शुरु भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल स्वयंमले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी मन्त्रिमण्डल हेरफेर गर्न आग्रह गरेतापनि देउवाले वेवास्ता गर्दा नेकपा एकीकृत समाजवादी पार्टीभित्र अन्तरविरोध चर्किएको हो ।
तत्कालीन समयमा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला वनमन्त्री रहेका प्रेमबहादुर आलेलाई जानकारीनै नदिइ फ्याँकिएपछि रिसाएका उनी केही सांसद लिएर मन्त्री बन्ने शर्तमा नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । अहिले उनै आले, कृष्णकुमार श्रेष्ठ, उतिबेला माधव नेपालको हातै समातेर पार्टी दर्ता गराउन होमिएकी रामकुमारी झाँक्रीले मन्त्री छाड्न नमान्दा नयाँलाई अवसर त गुमेको छ नै उनीहरुको नैतिकतामाथि प्रश्न उठेको छ ।
६ महिनाका लागि मन्त्री बनेका उनीहरु एकातिर कमजोर परिस्थितिको फाइदा उठाइरहेका छन् भने अर्कोतिर आफ्नो राजनीतिक भविष्यमाथि खेलबाड गरिरहेका छन् । उनीहरु क्षणिक स्वार्थमा लागेर आफ्नो विश्वास समेत गुमाइरहेका छन् । मन्त्री फेर्न बारम्बार आवाज उठाइरहेका सम्मानित नेता झलनाथ खनाल, अध्यक्ष नेपालले निर्णय कार्यान्वयन गर्न नसक्दाको परिणाम देखिएको बताउनुहुन्छ ।
नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो । तर, लगत्तै हालका मन्त्रीले ‘बजेट स्वीकृत हुनुअघि नहट्ने’ अडान राखेपछि नयाँ मन्त्री आउने कार्य रोकिएको थियो ।
अहिले बजेट स्वीकृत भइसक्दासमेत सो पार्टीबाट नयाँ मन्त्री आउन सकेका छैनन् । पार्टीका भातृ संगठनले पनि बहालवाला मन्त्रीको नैतिकतामाथि प्रश्न उठाएका छन् । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको निर्णय कार्यान्वयन हुने र बाँकी विषय पार्टी अध्यक्षले भोलिको केन्द्रीय कमिटी बैठकमा राख्ने बताउनुभयो ।
यता, स्वास्थ्य मन्त्री विरोध खतिवडाले राष्ट्रियसभाबाट बजेट पारित भएपछि मन्त्री छोड्ने बताउनुभएको छ ।
यतिबेला मन्त्रीबाट फिर्ता बोलाउँदा केहीले ‘पार्टी नै छाड्ने’सम्मको धम्की दिएका छन् । मन्त्री रहेका नेताको एउटा समूह र मन्त्री सिफारिस भएकाको अर्को समूह भएका कारण ‘दुई वटा पार्टी’जस्तो अवस्था रहेको र यसले गम्भीर समस्या निम्तिन सक्ने खतरा समेत बढेको छ । यसैबीच मन्त्रीमा सिफारिस मेटमणि चौधरीले प्रधानमन्त्रीलाई माओवादी अध्यक्ष प्रचण्ड गलत सन्देश प्रवाह गरिरहेको आरोप लगाउनुभयो ।
बहालवाला मन्त्रीको समूहले आजै अध्यक्ष नेपाललाई आठ बुँदे ध्यानाकर्षणपत्र समेत बुझाइसकेको छ । नेकपा एकीकृत समाजवादीका नेता एवम् बागमती प्रदेशका मुुख्यमन्त्री राजेन्द्र पाण्डेले भने भोलिसम्म नयाँ मन्त्री सरकारमा जाने र पुराना फर्किने दाबी गर्नुभएको छ ।
केही दिनअघिको छलफलमा मन्त्री रामकुमारी झाँक्री र प्रेम आलेले मन्त्रीबाट हटाउने निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।