काठमाडौं । अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार पुगेको छ ।
भूकम्पबाट सबैभन्दा धेरै प्रभावित पाक्टिका प्रान्तका सूचना प्रमुख मोहम्मद अमिन हफिजीले मुलुकमा गएको भूकम्पका कारण १ हजार जनाको मृत्यु भएको बीबीसीलाई जानकारी दिएका छन् ।
दक्षिणपूर्वी अफगानिस्तानको पाक्टिका प्रान्तस्थित खोस्त सहरबाट ४४ किलोमिटर टाढा केन्द्रविन्दु बनाइ गएको भूकम्पमा अरु १५ सय जना घाइते भएका छन् ।
तालिबानका नेता हैबतुल्लाह अखुन्दजादाले भूकम्पका कारण सयौँ घरहरु ध्वस्त भएको र मृतकको संख्या बढ्नसक्ने बताएका छन् ।
यससँगै यो भूकम्प अफगानिस्तानमा दुई दशकयताकै घातक रहेको बीबीसीले जनाएको छ ।
सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीर एवम् भिडियोहरुमा उद्धारकर्ता तथा खोजकर्ताहरुले भवनका भग्नावशेषबाट निकालिएका घाइतेहरुलाई स्ट्रेचरमा राखेर लगिरहेको देखिन्छ ।
स्थानीय समयअनुसार बिहान साढे १ बजेतिर गएको भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको दुर्गम क्षेत्रमा रहेकाले त्यहाँ उद्धार एवम् राहत कार्यमा समस्या उत्पन्न भएको र हेलिकोप्टर तथा अन्य उपकरणको प्रयोग गरी खोजी तथा उद्धार कार्य जारी राखिएको बताइएको छ ।
अफगानिस्तानमा प्रायजसो भूकम्पहरु जाने गरेको बताइन्छ । पछिल्लो १० वर्षमा मात्र भूकम्पका कारण अफगानिस्तानमा ७ हजार भन्दा धेरैको मृत्यु भइसकेको बीबीसीले उल्लेख गरेको छ ।