Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

केजरीवाल बन्न सक्लान त रवि ?

केजरीवाल बन्न सक्लान त रवि ?

  • बुधवार, आषाढ ८ २०७९

  • 1.6K
    SHARES

  • केजरीवाल बन्न सक्लान त रवि ?

    मुकुन्द भण्डारी

    काठमाडौं । रविन्द्र मिश्र जीको साझा पार्टी सबैको साझा भइसक्यो ! त्यसैले राप्रपा हलो तिर बार्गेनिङ गर्दैछ्न क्यारे ! बाबुराम दादाको नयाँ शक्ति पार्टी सबैको शक्ति आर्जन गरेर जसपा तिर लागिसके ! अब जसपामा पनि नयाँ शक्ति धेरै भएर शक्ति बाँडफाँडमा बार्गेनिङ भइहेको छ क्यारे !

    अब पुराना कांग्रेस र वामपन्थीबाट यी पार्टीको काम छैन भन्दै नयाँ तरङ्ग ल्याउछुँ भन्दै खोलेका बीपी कांग्रेस, चित्र अनि मोहन काकाको जनमोर्चा , वैद्यबाको माओवादी , विप्लव दाइको माओवादी , सीपी काकाको माले, जस्ता अनगिन्ती पार्टीहरु अहिले अस्पतालको आइसीयु वार्डमा अक्सिजनको भरमा बाँच्न सफल भएजस्तो अवस्थामामा छन् । त्यहीँ पनि यिनिहरु को भाषण सुन्दा लाग्छ एकवर्षमै सिङ्गापुर बनाउन पछि पर्दैनन् । अब बालेन र हर्कको एउटा अप्रत्यासित जित काठमाडौं र धरानमा सफल हुँदा देशैभरीको न्युटल नागरिक हरुमा बालेन र हर्कको बाहुलीबाट नयाँ जीवनबुटीको उपहारले नयाँ जोस र उमङ्ग देशैभरी फैलिएको छ ।

    त्यही आश र भरोसा माथि टेकेर रविजीले पनि चौथो अङ्गको सिढीबाट दोस्रो अङ्गको राजनीतिमा छिर्न सफल भएका छन् । उनको नयाँ सैद्धान्तिक अवधारणा के हो भनेर अहिल्यै सोध्न हतार होला तर पनि हिजोको नयाँ तीन–चारवटा बोल्ड निर्णय भित्र पर्नुपर्ने अथवा थप्नुपर्ने पहिलो संघीयता भित्र पर्ने प्रदेश सरकार खारेज गर्ने कुरा, दोस्रो समानुपातिक प्रणाली लाई हटाउनुपर्ने कुरा राख्छन् कि भन्ने आश सबैमा थियो तर झन रविजीले त्यसैलाई भर्याङ्गको सिढी बनाएर आफ्नो गन्तव्यमा पुग्ने सपना देखे ! अरु प्रत्यक्ष प्रधानमन्त्री अथवा प्रत्यक्ष राष्ट्रपतिको अवधारणा त माओवादी र एमालेले पनि राखेकै थिए ।

    विचार र सैद्धान्तिक अवधारणा न त एमालेको नराम्रो छ नत कांग्रेस न त माओवादीको । जम्मा बिग्रेको त्यहीँ भित्र रहेर काम गर्ने नेताहरुको सैद्धान्तिक विचलन अनि सकारात्मक दृष्टिकोणको अभाव लोभी पापी मन र एक अर्काको इगोका कारण राजनीतिक खिचडी पकाउन खोज्दा ठूला पार्टी प्रति जन्नो वितृष्णा फैलिएको अवश्य हो, तर पनि बहुदलीय प्रणालीमामा दलको विकल्प दल नै हो । मानौ रविजीलाई बालेन र हर्कको आगमनले पक्कैपनि जोश र शाहसलाई अझै उर्जा थपिएको हुनुपर्छ ,तर पनि त्यो उर्जाले यहीँ नेपाल को संसदीय प्रणालीभित्र रहेर देशलाई केही योगदान दिन कत्तिको सफल भइन्छ भन्ने हो ।

    यसका लागि मानौ रविजीले अब आउने चुनावमा देशभरीबाट ३५/४० सिट नै ल्याएर संसद भवनभित्र प्रवेश गरेपनि कुनै पनि नयाँ प्रणाली ल्याउनलाई दुई तिहाईको आवश्यक्ता पर्ने हुन्छ । त्यसको लागि की सबै पार्टीलाई सहमतिमा ल्याउन सफल हुनुपर्यो की टेबुल ठटाउने अनि संसद अवरुद्ध गर्ने, अरु विकल्प केही देखिदैन र अरु ठूलो आश केही पनि हुँदैन । भारतमा केजरीवालको नयाँ पार्टीको उदाहरणबाट रविजीले प्रदेश सरकार अनि मुख्यमन्त्रीलाई पनि अलि प्राथमिकतामा राखेको हो भने त्यो पनि सम्भावना देखिदैन केजरीवाल हुन बाबुराम भट्टराई पनि खोजेकै हुन् रविन्द्र मिश्र पनि खोजेकै हुन् तर त्यहाँको र यहाँको राजनीतिक परिवेश अलि फरक छ ।

    त्यहाँ कांग्रेस आइको अप्रत्यासित पतनले केजरीवाल उदाउन सफल भए । तर नेपालमा अझै ठूला पार्टी कांग्रेस एमालेहरु अझै दुई तीन दशक त्यो स्थितिमा पुग्ने सम्भावना देखिदैन किनकी यहाँ नेता भन्दा कार्यकर्ताले पार्टी धानिरहेका छन् र त्यसभित्र उर्जाशील यूवाहरुले आफ्नो अवसर खोजिरहेका छन् । त्यसैले रविजीको प्रदेश सरकारको हालत पनि केन्द्रीय सांसद जस्तै टेबल ठटाउने र नारा लाउने बाहेक अरु विकल्प रहदैन ।

    मैले भन्न खोजेको मात्र यो हो की रविजी जस्ता उर्जाशील यूवाहरुले नयाँ पार्टी भन्दा पनि ठूला पार्टीमा पसेर पार्टी भित्र रहेका फोहर र विकृतीहरुलाई अनि कमिकमजोरीलाई सुधार्दै यिनै पार्टीलाई नयाँ उर्जा थप्न सकियो भने त्यो नै उत्तम हुने थियो की !! नत्र दर्जनौँ पार्टी बनाएर समस्या बल्झिने मात्र हो समाधान होला जस्तो लाग्दैन । नेपालको भौगोलिक आकार र जनसंख्याको आधारमा सके दुई नत्र तीन दल भन्दा बढीको आवश्यकता छैन पनि । अब ठूला दलहरुले पनि आफ्ना पुराना राम्रा अनुभवलाई अगाल्दै यूवाहरुको नयाँ उर्जा र नयाँ सोचलाई आत्मसात गर्दै जुँगाको लडाईं र आफ्नो भित्रको अहमता र इगोलाई पखालेर अगाडि बढ्नुको विकल्प रहदैन !


    बुधवार, आषाढ ८ २०७९०६:२०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij