काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब बढाएको छ । बजेट पारित भइसेककोले पनि नयाँ मन्त्रीलाई स्वागत गर्नुपर्ने भन्दै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आज बालुवाटारमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
पार्टीमा सबैलाई मिलाएर लैजानुपर्ने भन्दै उहाँले प्रधानमन्त्री देउवालाई छिटो निर्णय कार्यान्वयन गर्न भन्नुभएको थियो । नेकपा एसमा नयाँ मन्त्रीका लागि चारजना सिफारिस भइसकेका छन् । नयाँ बन्ने मन्त्रीहरुमा मेटमणि चौधरी, शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठ र हिरा केसी रहेका छन् ।
पार्टीको निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै सम्मानित नेता झलनाथ खनालले आलोचना गरिरहनुभएको छ । सरकारमा भएका केही मन्त्रीको व्यवहार चित्तबुझ्दो नभएको भन्दै पार्टीभित्र आन्तरिक छलफल पनि चलेको छ ।
प्रधानमन्त्री देउवाले पनि नेकपा एसका मन्त्रीलाई सरकारमा बोलाउने गृहकार्य शुरु गर्नुभएको छ । भोलिसम्म नयाँ मन्त्रीहरु सरकारमा जाने तयारी रहेको नेकपा एस स्रोतले जनाएको छ । यद्यपि बहालवाला केही मन्त्रीले भने पद छोड्न आनाकानी गरिरहेका छन् ।