काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अघि बढाउँदा तालुकदार मन्त्रालय र राजनीतिक नेतृत्वलाई नेपाली सेनाले जानकारी नदिएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सेनाले रक्षा मन्त्रालयसँग एसपिपीबारे निर्देशन गरी पाउँ भनेर पत्राचार गरेको तर मन्त्रालय तथा राजनीतिक नेतृत्वलाई जानकारी नदिएको उहाँले बताउनुभयो ।
‘नेपाली सेनाले एसपिपीबारे निर्देशन पाऊँ भनेर रक्षा मन्त्रालयलाई पत्राचार गरेको देखियो। तर संविधान, कानुन, तालुकदार मन्त्रालयसँग कुनै परामर्श गरेको देखिएन। जंगी अड्डाले पत्र पठायो,’ उहाँले भन्नुभयो, ‘रक्षा मन्त्रालयले मेरो पनि प्रतिनिधि राखेर अघि बढाउनू भनेको पाइयो। सेनाले पत्राचार गर्यो। त्यो कुरा तालुकदार मन्त्रालय र राजनीतिक नेतृत्वलाई सामेल गराएको प्रमाण लिखत भेटिँदैन। सम्भवतः सेनाले ठान्यो–रक्षा मन्त्रालयले गो अहेड भनेको छ।’
उहाँले २०७२ साल असोज १३ गते सो प्रक्रिया अघि बढाउनू भन्ने निर्देशन दिँदा तत्कालीन रक्षामन्त्री सुशील कोइराला रहेको बताउनुभयो । नेपाली सेनाले अमेरिकी राजदूतावासलाई सो प्रोग्रामबारे पत्राचार गर्दा केपी ओली प्रधानमन्त्री भए पनि कुनै जानकारी नदिइएको बताउनुभयो ।