काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताउनुभएको छ ।
आइएमई लिमिटेडको २२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तिमा रेमिट कम्पनीको भूमिका उल्लेखनीय भएको बताउनुभएको हो ।
अर्थमन्त्री शर्माले रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको बताउँदै यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि धेरै मदत मिलेको दाबी गर्नुभयो ।
रेमिट्यान्सको ठूलो रकम उपभोगमा खर्च भइरहेको र आउँदा दिनमा ठूला पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्ने खाँचो रहेको उहाँको भनाइ छ। हुण्डी कारोबारलाई न्यूनीकरण गरी वैधानिक च्यानलबाट विदेशमा रहेको नेपालीको रकम भित्र्याउन रेमिट्यान्स कम्पनीले गरेको योगदानको शर्माले प्रशंसा गर्नुभयो ।
आर्थिक वर्ष ०७९–८० को बजेटले पनि रेमिट्यान्सका माध्यमबाट वैदेशिक मुद्रा भित्र्याउने धेरै विषयलाई सम्बोधन गरेको उहाँले जानकारी दिनुभयो । अर्थमन्त्री शर्माले आर्थिक वर्ष ०७९–८० को बजेट आयातबाट उत्पादन, जोखिमबाट समष्टिगत आर्थिक स्थिरता र बञ्चितिकरणबाट समावेशीतातर्फको प्रस्थान भएकाले मुलुकको वर्तमान आर्थिक अवस्थालाई बिस्तारै समाधान गरी अघि बढ्ने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले आइएमई लिमिटेडले विदेशी मुद्रा भित्र्याउने संस्कृतिमा रुपान्तरण गरेको बताउनुभयो । गास, बास र कपासका लागि रेमिट्यान्सको रकम बढी खपत भइरहेकोमा आउँदो दिनमा पुँजी निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको उहाँले औँल्याउनुभयो ।
श्रम बेचेर पैसा कमाइरहेको परिस्थितिलाई परिवर्तन गर्ने गरी आगामी आर्थिक वर्षको बजेटले उत्पादन बेचेर विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखेको मरासिनीको भनाइ छ । कार्यक्रममा आइएमई ग्रुपका संस्थापक चन्द्रप्रसाद ढकालले एउटा कोठाबाट शुरु भएको आइएमई ग्रुपले ४० हजारलाई प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी दिने स्थितिमा आइपुगेको जानकारी दिनुभयो ।
उहाँले बजेटमा आएका विषयहरु कार्यान्वयनमा जाने हो भने देशको आर्थिक गतिविधि बढ्ने सुझाव दिनुभयो ।