काठमाडौं । वर्तमान सरकारमा सहभागी हुने निश्चित भएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गैर सांसदलाई मन्त्री पठाउने तयारी गरेको छ ।
कसलाई मन्त्री पठाउने विषयमा आन्तरिक छलफल चलिरहेको बेला अध्यक्ष महन्थ ठाकुरले गैरसांसदलाई सरकारमा पठाउने प्रस्ताव गरेको लोसपा स्रोतले बताएको छ ।
यद्यपि, अधिकांश सांसद तथा नेताहरू अध्यक्ष ठाकुरको प्रस्तावको विपक्षमा रहेका छन् । कार्यकारिणी सदस्य एवं सांसदहरू शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तवलगायत नेताहरू पार्टीका सांसदहरू मध्येबाट नै मन्त्रीमा जानुपर्ने पक्षमा छन् ।
शीर्ष नेताहरू चुनावको तयारीमा लाग्नुपर्ने भएकाले सांसद र शीर्ष नेतालाई मन्त्रीमा नपठाउने तथा सरकारमा जानै पर्ने भए गैरसांसदलाई पठाउने अध्यक्ष ठाकुरको प्रस्ताव रहेको छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवा लोसपालाई दुईवटा मन्त्री दिन तयार भएका छन् । लोसपाले भने चारवटा मन्त्रालय दाबी गरेको थियो ।
तर लोसपाका कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले सरकारमा जाने विषयमा हालसम्म कुनै निर्णय नभएको बताउँनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री देउवासँगको भेटमा हाम्रो पाटीका अध्यक्षले सरकारको विषयमा कुनै कुराकानी गर्नुभएको छैन, यता पार्टीमा पनि कुनै छलफल छैन ।’
लोसपाले आफ्नो माग पुरा गराउनका लागि भोलि प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउन लागेको बताउँदै नेता अरगरियाले आफूहरुको माग पूरा भए मात्र सरकारको विषयमा छलफल हुने बताउनुभयो ।