एजेन्सी । बङ्गलादेशको दक्षिणपूर्वी सहर चटगाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा कन्टेनर डिपोमा भएको आगलागीमा परेर ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । अझै पनि मृतकको संख्या सक्ने एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् ।
चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा गयराति करिब साढे ९ बजे आगलागी भएको थियो । आगलागीमा परेर २५ जनाको ज्यान गइसकेको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन्।
चटगाँउ जिल्लाका प्रहरी प्रमुख मोहम्मद मोमिनुर रहमानले शनिबार राति आगो लागेको र त्यस भीषण आगलागीमा पाँच अग्नि नियन्त्रकसहित २५ जनाको मृत्यु भएको बताए ।
मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको स्वास्थ्य विभागका निर्देशक हसन सहरियारले एएफपीलाई बताएका छन् । आगलागी भएको करिब एक घण्टापछि सयौं मानिसहरूले आगो निभाउने प्रयास गरिरहेको अवस्थामा केमिकल राखेका धेरै कन्टेनरहरू विस्फोट भएको बताइएको छ ।
सो आगलागीमा परी ४० अग्नि नियन्त्रक र १० प्रहरीसहित २०० भन्दा बढी घाइते छन् । आगलागीसँगै ठुलो विस्फोट पनि भएकोले दर्जनौं अग्नि नियन्त्रकसहित घाइते भएका थिए । चटगाउँको एक स्थानीय अस्पतालका चिकित्सकले जलेको अवस्थामा रहेका कैयौँ मानिस गम्भीर अवस्थामा रहेका पनि बताएका छन् ।