काठमाडौं। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।
शनिबार दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नुभएको थियो ।
दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल केन्द्रित हुने लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो ।
उहाँले प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ठाकुरलाई मिटिङका लागि बोलाएको र त्यसमा आगामी संघ र प्रदेशको निर्वाचनमा हुने गठबन्धनबारे छलफल केन्द्रित भएको बताउनुभयो ।
झाले भन्नुभयो, , ‘आगामी अर्को निर्वाचनमा पनि आउँदैछ, प्रतिनिधिसभा र प्रदेशसभाको। त्यस विषयमा पनि पार्टीको कार्यकारिणी समिति बैठकमा छलफल भयो। तर, प्रधानमन्त्रीजीले पार्टी अध्यक्षलाई मिटिङमा बोलाउनु भएकाले आज बैठक स्थगित गरिएको छ। प्रधानमन्त्री देउवा र पार्टी अध्यक्षबीच आगामी चुनावमा गठबन्धन गर्ने विषयमा छलफल हुन्छ नै।’
यसैबिच, लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि (आइतबार) बिहान ११ बजे पनि बोलाइएको छ।