काठमाडौं । राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । शुक्रबार(आज) बसेको राष्ट्रिय सभा बैठकमा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थलगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनीकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भई सदनमा पेस भएको हो ।
देवेन्द्र दाहाल प्रस्तावक र भैरवसुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भई खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनीकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्नुभएको हो ।
जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गर्दै राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधिको विरुद्धमा मूल्यवृद्धि गरेको आरोप लगाउनुभयो ।
राष्ट्रियसभाको बैठकमा अहिले जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि सांसदहरूले छलफल गरेका छन् । राष्ट्रिय सभाको बैठक आजै दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको छ ।