काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने बताउनुभएको छ ।
काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग माग्न मन्त्रालय पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलसँगको भेटमा उहाँले फोहोर व्यवस्थापनमा नयाँ प्रविधि अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मन्त्री झाँक्रीले बन्चरे डाँडामा व्यवस्थित तरिकाबाट फोहोर व्यवस्थापन गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मन्त्रालयले काठमाडौंको फोहोर व्यवस्थापनका लागि गरेको प्रतिबद्धता समयमै पूरा गर्न आग्रह गर्नुभएको छ ।
भेटमा बन्चरे डाँडा ल्याण्डफिल्ड साइटबाट सिकेको पाठबाट अघि बढेर फोहोर व्यवस्थापन गर्नका लागि योजनाका बारेमा कुराकानी भएको थियो । सरकारले स्थानीयका माग पूरा नगरेको र उचित तरिकाले व्यवस्थापन नगरेको भन्दै बन्चरे डाँडावासीले फोहोर फाल्न दिएका छैनन् ।
जसकारण लामो समययता काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन । काठमाडौंका सडकमा जताततै फोहोरको थुप्रो देख्न सकिन्छ । यसअघि काठमडौंका नवनिर्वाचित मेयर बालेन साहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरेर मात्रै महानगरका अन्य काम गर्ने घोषणा गरिसक्नुभएको छ ।