काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्री जनार्दन शर्मालाई स्रोत व्यवस्थापनलगायत विषयमा प्रश्न गर्नुभएको छ ।
आज प्रतिनिधि सभा संसद बैठकमा बजेटबारे छलफलमा भाग लिँदै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले अर्थतन्त्र ७ प्रतिशतले बढ्दै गर्दा राजश्व कसरी २० प्रतिशतले बढ्छ भन्ने प्रश्न गर्नुभएको हो ।
‘यस वर्ष समग्रमा राजश्वको लक्ष्य अरू वर्षहरूको भन्दा कम हुने अवस्था देखिन्छ,’ थापाले भन्नुभयो, ‘यस्तो अवस्थामा यति धेरै राजश्व बढाउँछु भनेर अर्थमन्त्रीले मलाई कसरी आश्वस्त पार्नुहुन्छ ?’
अनुमान गरिएको स्रोत यथार्थपरक छ भन्नेबारे अर्थमन्त्रीले आश्वस्त पार्नुपर्ने पनि उहाँले बताउनुभयो ।
उहाँले पुँजीगत खर्चबारे पनि प्रश्न राख्नुभएको छ ।
‘हामी के त्यस्तो नयाँ गर्छौं जसले गर्दा यो वर्ष पुँजीगत खर्च अघिल्लो वर्ष हुन नसकेको पुँजीगत खर्च यो वर्ष हुन्छ?,’ उहाँले भन्नुभयो।
उहाँले सामाजिक स्वास्थ्य सुरक्षाका सम्बन्धमा कुरा उठाउनुभएको थियो ।
‘स्वास्थ्य बीमालाई अब बीमा कम्पनीमार्फत चलाउने भनेर यसपालि अर्थ मन्त्रालयले कार्यक्रम ल्यायो। यो भनेको नेपालले अहिलेसम्म लिएको स्वास्थ्य बीमाको सामाजिक सुरक्षाको दृष्टिकोण नै नबुझ्नु हो,’ उहाँले भन्नुभयो।