काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संघीय संसद्मा पेस गरेदेखि ओरालो लागेको शेयर बजार साप्ताहिक कारोबारको तेस्रो दिन बुधबार(आज) पनि घटेको छ ।
आज शेयर बजार परिसूचक (नेप्से) ७.१९ अंकले घटेर २१३०.७३ विन्दुमा ओर्लिएको छ । यस्तै, ’क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सिटिभ इन्डेक्स पनि १.१६ अंकले घटेर ४१४.४७ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएकामध्ये ३ वटा मात्रै समूहको उपसूचक बढेको छ । आज जलविद्युत्, विकास बैंक र फाइनान्स समूहको उपसूचक बढेका छन् । अन्य १० समूहको उपसूचक भने घटेको छ । सबैभन्दा बढी व्यापार समूहको उपसूचक १.८३ र जीवन बिमा समूहको उपसूचक १.५ प्रतिशतले ओरालो लाग्यो ।
आज कूल १०१ कम्पनीको शेयर मूल्य बढ्यो भने ८४ कम्पनीको शेयर मूल्य घट्यो । यस्तै, १० कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।
आज २२७ कम्पनीको ३ लाख २ हजार ६७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।