काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले हिंसा, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजीकरणसहित महानगरपालिकाका सबै वडामा वुमन सेल ‘महिला सेल’ गठन गर्ने प्रक्रिया अघि बढाउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
पदभार ग्रहण गरेलगत्तै उहाँले चुनावी प्रतिवद्धता अनुसार उक्त निर्णयमा हस्ताक्षर गरेर काम थालनी गर्नुभएको हो । सबै वडामा गठन भएको महिला सेलले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिलाका लागि आवश्यक कार्य गर्नेछ ।
न्यायिक समितिको प्रमुख पनि उपमेयर डंगोल नै हुन् । उहाँको चुनावी प्रतिबद्धतापत्रको २२ नम्बर बुँदामा महिला सेल गठन गर्ने उल्लेख छ । ‘सभ्य र शान्त समाज निर्माणका लागि वुमन सेल आवश्यक छ भनेर यसलाई प्राथमिकतामा राखेको हो,’ डंगोलको भनाइ छ ।
उपमेयर डंगोलले पदबहालीपछि मेलमिलापकर्तालाई आह्वान गर्न मेलमिलापको सूची अध्यावधिकका लागि सूचना प्रकाशन गर्ने पत्रमा हस्ताक्षर गर्नुभएको छ ।