काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि तालमेल गरेर जान निर्देशन दिने निर्णय गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति गरेर अगाडि बढ्न प्रदेश र जिल्ला तहलाई निर्देशन दिने निर्णय गरेको हो ।
आज बसेको बैठकमा स्थानीय तहको निर्वाचनमा भएको तालमेलको समीक्षा भएको गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेका सत्तारुढ पाँच दलले आगामी निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिने बताउँदै आएका छन् ।