काठमाडौं । बागमती प्रदेश सरकार परिवर्तनको चर्चा सुरु भएको छ । आगामी आर्थिक वर्षको बजेट पास गरे लगत्तै प्रदेश सरकार परिवर्तन हुने चर्चा सुरु भएको हो ।
यसअघि बागमती प्रदेशमा सत्तारुढ ५ दलीय गठबन्धनको नेतृत्वमा सरकार गठन हुँदाको सहमतिअनुसार प्रदेश सरकार परिवर्तनको चर्चा सुरु भएको हो । उक्त सहमतिअनुसार आर्थिक वर्ष २०७९-८० को बजेट पास भए लगत्तै बागमती प्रदेश सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्नेछ ।
सत्ता गठबन्धन दलहरूको सहमति बमोजिम नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आगामी असारमा प्रदेश सरकारको नेतृत्व गर्ने कांग्रेसका नेताहरूको भनाइ छ । गत कात्तिक ११ गते नेकपा एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्दै सत्ता गठबन्धनका दलहरूले प्रदेश सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाएका थिए । उनले गत भदौ २ गते नेकपा एमाले विभाजनपछि अल्पमतमा परेको अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारलाई विस्थापित गरेका थिए ।
शाक्यले गत कात्तिक १० गते सदनबाट विश्वासको मत लिने तयारी गरे पनि सो मत नपाउने भएपछि संसदबाटै राजीनामाको घोषणा गरेर सरकार छाडेकी थिइन् । सोही दिन गठबन्धनका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीको समर्थनमा एकीकृत समाजवादीका पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका थिए भने कात्तिक ११ मा शपथ ग्रहण गरेका थिए ।
सो समयमा प्रदेश सरकारको नेतृत्वमा गठबन्धनका ३ ठुला दलहरू माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीले दाबी गरेका थिए । उक्त विषयमा भागबण्डा गर्दा माओवादी केन्द्रले सरकारको नेतृत्व नपाउने भएको थियो भने कांग्रेस र एकीकृत समाजवादीले आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए ।
उनले प्रदेश सरकारको नेतृत्वका कांग्रेसका बानियाँ आएपछि बजेट कार्यान्वयनमा जाने दाबीसमेत गरे ।
उनले सरकार परिवर्तनमा प्रदेश मात्र नभई पार्टीका शीर्ष नेताहरू पनि जोडिएका कारण यसको निर्णय केन्द्रले गर्न सक्ने बताए ।