काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले सरकारको नीति तथा कार्यक्रमप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणी मर्यादाविपरीत रहेको आरोप लगाउनु भएको छ ।
नेपाली रेडियो नेटवर्क–एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले भन्नुभयो,“सम्मानित संसद्मा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति केपी शर्मा ओलीले गर्नुभएको टिप्पणी उहाँको मर्यादाभन्दा बाहिरको छ, प्रतिपक्षीको काम नै सरकारको विरोध गर्नु हो तर उहाँले प्रयोग गर्नुभएका शब्द उचित थिएनन् ।”
निर्वाचनको नतिजा हेर्दा गठबन्धन भएर कांग्रेस बचेको अवस्था देखियो, गठबन्धन नभएको भए त कांग्रेसको कन्तबिजोग हुने रहेछ नि भन्ने पत्रकार धमलाको प्रश्नमा नेता भण्डारीले भन्नुभयो,“त्यस्तो हुँदै होइन, गठबन्धन दलहरूबीच सहमति नै थियो, मिलेको ठाउँमा गठबन्धन गर्ने नमिल्दा आफैं आफैं चुनाव लड्ने, कतिपय ठाउँमा कांग्रेस एक्लै चुनाव लड्दा जितको छ हेर्नुहोस् त ।”
नेता भण्डारीले कांग्रेस गठबन्धनप्रति बफादार र इमानदार रहेको दाबी गर्नुभएको छ ।