काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले आफ्नो पहिचान गुमाएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सत्ता स्वार्थ टिकाउन र सत्ताको किलोमा बाँधेर आफुलाई खोज्न थालेको बताए ।
उनले कांग्रेसको आफ्नो नीति कार्यक्रम नरहेको भन्दै नेपाल र नेपालीको विकास, समृद्धि, राष्ट्रिय विकास, सम्मान अभिवृद्धिका लागि कांग्रेससँग कुनै नीति नभएको बताए ।
‘कार्यक्रम छैन, भिजन छैन, योजना छैन । मार्गचित्र हुने कुरै भएन । गन्तव्य सन्तव्य केही छैन’, ओलीले भने, ‘यति मात्रै होइन कांग्रेससँग नेकपा एमालेले अघि बढाएका नीति तथा कार्यक्रम हटाउने आँट पनि छैन ।’ उनले एमालेका कार्यक्रमको विरोध गर्ने तर हटाउने आँट पनि नभएको बताए ।