एजेन्सी । अमेरिकी इतिहासको अर्को त्रासदीपूर्ण विद्यालय गोलीकान्ड भएको छ । यहाँको प्राथमिक विद्यालयमा आज बिहान भएको आक्रमणमा १८ बालबालिकासहित २१ जनाको हत्या भएको छ भने कैयौँ गम्भीर रूपमा घाइते भएका छन् ।
टेक्सास राज्यको सान एन्टोनियोबाट १३४ किलोमिटर टाढा रहेको उभाल्डे सहरको रोब प्राथमिक विद्यालयमा एकजना २१ वर्षीय बन्दुकधारीले कक्षाकोठामा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा उनीहरूको मृत्यु भएको हो । प्रहरी कारबाहीमा आक्रमणकारी पनि मारिएको जनाइएको छ ।
टेक्सासका गभर्नर ग्रेग एबोटले हत्यारालाई विद्यालय रहेको इलाकाका बासिन्दा साल्भाडोर रामोसको रूपमा पहिचान गरेका छन् । यो नरसंहार सन् २०१२ को डिसेम्बरमा कनेक्टिकटको स्यान्डी हुकमा भएको डरलाग्दो हमलापछि अमेरिकी प्राथमिक विद्यालयमा भएको सबैभन्दा घातक हमला हो । स्यान्डी हुक हमलामा २० बालबालिकासहित ६ जना वयस्क मारिएका थिए ।