काठमाडौं - नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई आफ्नो तर्फबाट धोका नभएको दाबी गरेको छ ।
काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गरी कांग्रेसबाट गठबन्धनमा धोका भएको निष्कर्ष निकाल्न नहुने बताए ।
‘कांग्रेसले गठबन्धनमा रहेका दललाई धोका दियो भन्ने निष्कर्ष निकाल्नु हुँदैन । गठबन्धनमा सबै पार्टीलाई मिलाएर जाने कुरा आफैमा जटिल हो । हाम्रो पार्टी एक्लै लडेको ठाउँमा हाम्रै पार्टीका साथीहरूबाट त अन्तर्घात भएको छ । आफ्नै दललाई मतदान नगरेर अर्को दललाई दिएको छ ।’
गठबन्धनमा समस्या नै आएन भन्ने नभए पनि ठाउँ, परिवेश र उम्मेदवारले प्रभाव पारेको उनको भनाइ छ । महतले भने, ‘ठाउँ, परिवेश र उम्मेदवार विविध कारणले प्रभाव पर्छ । माधव नेपालका पार्टीका उम्मेदवारलाई पनि मत गएको छ । पोखरा र हेटौँडामा काँग्रेसका मतदाताले मत हाल्नुभएको छ ।’
नेकपा एकीकृत समाजवादीले एमालेबाट मत तान्न नसकेको महतले बताए । ‘उहाँ (माधव नेपाल)को पार्टीले एमालेले मत तान्न सकेन । हामीले मत नहालेको होइन,’ उनी भन्छन् । काँग्रेसले गठबन्धनमा इमानदारिता देखाएको भरतपुर र पोखरा महानगरपालिकाबाट पुष्टि भएको बताए । ‘पोखरा र भरतपुरको परिणाममा कुनै असर नपर्ने देखिएको छ ।’ पोखरामा एकीकृत समाजवादी र भरतपुरमा माओवादीले मेयर जित्ने अवस्था छ ।
स्थानीय निर्वाचनको छोटो समयमा मतदाता शिक्षा दिन नसक्दा केही ठाउँमा गठबन्धन पराजित भएको उनको भनाइ छ । त्यसैले काँग्रेस तालमेल गरेर जाने कुरालाई निरन्तरता दिने प्रवक्ता महतले बताए स्थानीय तहको नतिजाले सङ्घीय निर्वाचनसम्म गठबन्धन गरेर जाने आधार बनेको पनि उनले बताए । साथै उनले स्थानीय तहमा काँग्रेसले ठुलो सफलता प्राप्त गरेको बताए ।