काठमाडौँ । पार्टी भित्रको विवाद चर्किदै गएपछि सुस्ताएको नेकपा सचिवालय बैठक लामो समयपछि आज बस्ने भएको छ ।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले ६ जना स्थायी कमिटी सदस्यीय कार्यदल बनाएपछि त्यसको बैधता माथी प्रश्न उठेपछि आज बैठक बस्न लागेको हो ।
नौ दिनको संवादहीनता तोड्दै ओली र दाहालले गत बिहीबार कार्यदल गठन गर्नुभएको थियो । पार्टीका महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदल र त्यसको जिम्मेबारीलाई लिएर वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले असन्तुष्टि जनाउनु भएको थियो ।
त्यसैगरी उहाँहरुले स्थायी कमिटिको बैठकलाई पेन्डुलम बनाइएको र त्यसलाई तत्काल सूचारु गर्नु पर्ने माग पनि गर्नु भएकाले बैठकले मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।
महासचिव पौडेलको संयोजकत्वको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेनु भएको छ ।
कार्यदललाई पार्टीभित्रको असन्तुष्टिको व्यवस्थापन तथा सम्वोधन, शक्ति सन्तुलनलगायतका विषयलाई सुल्झाउने उपायहरु पत्ता लगाउने जिम्मेबारी दिइएको छ ।
दुई चार दिनमै काम सक्न भनिएपनि समयावधि स्पष्ट नतोकिएको कार्यदलले दुई अध्यक्षबीचको अधिकार बाँडफाट, संघीय सरकार र प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार मन्त्रिपरिषद् पुनर्गठन, केही प्रदेशमा मुख्यमन्त्री नै परिवर्तन, सरकारका काम प्रभावकारी बनाउन संयन्त्र गठन, महाधिवेशनको कार्ययोजनलगायतका विषयमा पनि प्रस्ताव तयार पर्ने जनाइएको छ ।
कार्यदलमा रहेका नेताहरुले आन्तरिक छलफललाई तिव्रता दिइसकिएको बताएका छन् ।