काठमाडौं । नेकपाका प्रभावशाली नेता युवराज ज्ञवालीले महाधिवेशन आयोजक कमिटि बनाउने प्रस्ताव गलत भएको बताउनु भएको छ ।
पार्टीको विधानमा अहिलेको केन्द्रीय कमिटिलाई नै महाधिवेशन गर्ने जिम्मेबारी तोकिएकाले अर्को महाधिवेशन आयोजक कमिटि आवश्यक नरहेको उहाँको भनाई छ ।
विधान विपरित महाधिवेशन आयोजक कमिटि बनाउनु भनेको प्रकारान्तरले पार्टीलाई विघटन तर्फ लैजानु हो, नेपाली रेडियो नेटवर्कसँग उहाँले भन्नुभयो ।
नेता ज्ञवालीले पार्टीका जुनसुकै विषयलाई पनि दुई चार जना नेताले प्रस्ताव गर्ने र निर्णय गर्ने गरेर नहुने दावी गर्दै सवै प्रस्ताव पार्टी कमिटिमा राख्नु पर्ने बताउनुभयो ।
उहाँले अहिले स्थायी कमिटिको बैठक अनिश्चितकालका लागि स्थगित भएकाले सवैभन्दा पहिले बैठकको मिति तय गर्नु पर्ने र सवै विषयलाई त्यही राख्नु पर्नेमा जोड दिनुभयो ।
अध्यक्ष केपी शर्मा ओलीसहितको सचिवालय बैठकले स्थायी कमिटिको एजेण्डा तय गरेको र त्यस एजेण्डाका आधारमा बैठकलाई अगाडी बढाउनु पर्ने उहाँको भनाई छ ।
पार्टीको आधिकारीक, अधिकारसम्पन्न र औपचारिक संरचनालाई वेवास्ता गर्न र अबमुल्यान गर्नु आपत्तिजनक भएको ज्ञवालीले दावी गर्नुभयो ।
पार्टी विधान नमान्नेहरुले मुलुकको संविधान पनि उलंघन गर्ने भएकाले लोकतान्त्रीक अभ्यास र आचरण पार्टी भित्रैबाट कायम हुनुपर्ने उहाँको तर्क छ ।
नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दैै उहाँले भन्नुभयो, संविधान नमानेकाले राजा हटाएको हो, फेरी नयाँ राजा बन्ने प्रयास नहोस्, लोकतन्त्रमा सुहाउने कुरा हैन ।
देशको संविधान र पार्टीको विधान पालना गर्ने सवैभन्दा पहिलो जिम्मेबारी पार्टीका शिर्ष नेताहरुकै भएको बताउदै उहाँले शिर्ष नेताले नै उलंघन गरेमा तल्लो तहबाट पनि उलंघन हुने र देश अराजकता तर्फ धकेलिने नेकपा नेता ज्ञवालीले चेतावनी दिनुभयो ।