Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओली–दाहालबीच मुख्यमन्त्री परिवर्तनसँगै मन्त्रिपरिषद हेरफेरबारे छलफल!

ओली–दाहालबीच मुख्यमन्त्री परिवर्तनसँगै मन्त्रिपरिषद हेरफेरबारे छलफल!

  • बिहिवार, श्रावण २९ २०७७

  • 597
    SHARES

  • ओली–दाहालबीच मुख्यमन्त्री परिवर्तनसँगै मन्त्रिपरिषद हेरफेरबारे छलफल!

    काठमाडौँ – पाँचदिनभित्रै सत्तारुढ नेकपामा देखिएको विवाद समाधान हुने प्रधानमन्त्री केपी शर्मा ओलीको दाबीप्रति पार्टीका नेताहरुले निकै नै आशावादी रहेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्रीले पाँचदिन भित्रै विवाद हल हुने दाबी गरेको भोलिपल्टै नेकपाका दुई अध्यक्षबीच भएको छलफल सकारात्मक दिशामा अघि बढेको खबरले नेताहरुमा उत्साह छाएको हो ।

    बुधबार एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले पार्टी एकतालाई कसैले भत्काउन नसक्ने बताउँदै पाँच दिनभित्रै सकारात्मक परिणाम दिने घोषणा गर्नुभएको थियो । उक्त अन्तर्वार्तामा ओलीले आफूले फुटमा भन्दा धेरै जुटमा जोड दिने गरेको बताउँदै केही नेताहरुले फुटलाई मलजल गर्ने अभिव्यक्ति दिँदा समेत आफूले पार्टीलाई सम्हालेर अघि बढिरहेको दाबी गर्नुभएको थियो ।

    पार्टी अध्यक्ष ओलीले पाँचदिनभित्रै सकारात्मक परिणाम दिने दाबी गरेको भोलिपल्टै आज दुई अध्यक्षबीचको संवादहिनताको पनि अन्त्य भयो । बालुवाटारमा ओली र अर्का अध्यक्ष दाहालबीच चार घण्टा वार्ता भयो । पार्टीका दोस्रो तहका नेताहरु समेत सहभागी उक्त छलफल सकारात्मक दिशामा अघि बढेको नेताहरुले बताएका छन् ।

    विवाद समाधानका लागि दुवै खेमाकोबीचमा संवादका लागि भूमिका निर्वाह गरिरहनुभएका नेता सुवासचन्द्र नेम्वाङले सौहाद्रपूर्ण रुपमा आजको छलफल अघि बढेको बताउनुभयो । उहाँले पाँचदिनमै विवाद अन्त्य हुने प्रधानमन्त्रीको घोषणाप्रति आफू पनि आशावादी रहेको बताउनुभयो । यो बीचमा दुवै अध्यक्षबीच आफूले गरेको छुट्टाछुट्टै संवादले पनि परिणाम सकारात्मक आउनेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो ।

    पार्टीको विवाद पाँचदिन भित्रै समाधान हुने अध्यक्ष ओलीको घोषणाको वरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेताहरुले पनि स्वागत गरेका छन् । नेपाल समूहका एक प्रभावशाली नेता रघुजि पन्तले विवाद समाधानका लागि पाँच दिन लगाउनुको साटो आजको आजै हल भए पनि त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने तर समस्याहरुको न्यायोचित समाधान खोजिनुपर्ने बताउनुभयोे । पार्टीमा राजनीतिक समस्या रहेकोले प्राविधिक विषयमा मात्रै समाधान खोजेर पार्टीको विवाद हल नहुनेमा भने सबैले सचेत हुनुपर्ने उहाँको भनाई छ ।

    आज पार्टीको दोस्रो तहका नेताहरुसहित अध्यक्ष ओली र दाहालको चारघण्टा लामो छलफल सकारात्मक दिशामा अघि बढेको नेताहरुले बताए पनि सहमतिको खाका भने सार्वजनिक गरिएको छैन । श्रोतका अनुसार महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु पनि परिवर्तनलगायतका विषयमा आज छलफल भएको थियो । दुई अध्यक्षबीच भोलि पनि वार्ता हुने छ ।

     


    बिहिवार, श्रावण २९ २०७७०७:४८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij