काठमाडौं – काठमाडौं महानगरमा नेपाली काँग्रेसको तर्फबाट मेयर पदको प्रत्यासी सिर्जना सिंहले काठमाडौं महानगरवासीलाई ठूला सपना देखाउने भन्दा पनि व्यवस्थित र सफा काठमाडौं बनाउन प्रमुख भूमिका खेल्ने बताएकि छन् । काठमाडौंका सडकमा गरिबले पानी खान र शौचालय समेत जान नपाउने अवस्था रहेको बताउँदै मेयर निर्वाचित भएमा सजिलै यस्ता समस्या समाधान गरिने बताएकि हुन् ।
विकसित भएर पनि अव्यवस्थित भएको काठमाडौंलाई व्यवस्थित गर्ने उनले बताइन्। ‘काठमाडौं बनाउने जिम्मा हाम्रो काँधमा आएको छ, सोही कारण मलाई काठमाडौंको मेयरको रुपमा पार्टी र गठबन्धनले अगाडि सारेको छ,’ सिंहले भनिन् । काँग्रेसको कार्यकर्ता र सिपाही भएको बताउँदै आफू मेयरमा निर्वाचित भए घोषणापत्र अनुसार नै काम गर्ने बताइन्। शंकरदेव क्याम्पसका पूर्वविद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले आफ्नो राजनीतिको घर शंकरदेव भएको समेत बताइन्।
शंकरदेव क्याम्पसको विकासमा सहयोग गर्ने उनले बताइन् । उनले आफू विरासतबाट नभई शंकरदेवबाट राजनीतिमा उठेको बताइन् । २०३३ सालमा गोर्खाबाट काँग्रेसको सदस्यता लिएको बताइन् ।
मंगलदेवीसिंहको परिवारबाट आएको महिला सदस्य भएकाले महिला र उत्पिडितको हितका लागि आफू मेयर बन्ने अभियानमा होमिएको बताइन् । ‘भ्रष्टाचार मुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो,’ सिंहले भनिन्। जेष्ठ नागरिकको समस्या अत्याधिक रहेको बताउँदै उनले जेष्ठ नागरिक भवन वा खाली जग्गामा पार्क बनाउने बताइन् । यस्तै उनले ३२ वटै वडामा स्वास्थ्य प्रवर्धन केन्द्र र जेष्ठ नागरिक भवन बनाउने पनि बताइन् ।
काठमाडौं पानी खाने व्यवस्था समेत नरहेको बताउँदै उनले सार्वजनिक स्थलमा निःशुल्क खानेपानी र शौचालयको व्यवस्था गर्न बताइन् । उनले काठमाडौंको संस्कृति, सभ्यता र पुरातात्त्विक सम्पदाको संरक्षण गर्ने समेत बताइन् ।