मुकुन्द भण्डारी -
प्रचण्डले ३१\३२ बर्ष नेतृत्व गरेको पार्टी ०७४ साल सम्मआउँदा कति टुक्रामा बिखण्डन भएर पार्टीको हबिगत के थियो र त्यही स्थितिमा चुनाबमा होमिदा परिणाम कस्तो आउने थियो, यो कुराको आकलन पक्कै पनि प्रचण्डले राम्रोसङ्गनै गर्नुभएको थियो ।
त्यो कुरा वहाँलाई कसैले सम्झाउनु पर्दैननै । सायद उहाको कार्यकाल भरी पार्टीलाई कस्तो बिधि र बिधान सम्बत चलाउनु भयो, आफ्ना सहकर्मीहरुलाई गर्ने व्यबहारको मोडेल कुन बिधि र पद्धतिमा आधारित थियोे ? त्यो ब्यथा मोहन बैद्य, बाबुराम भट्टराई, सिपि गजुरेल, नेत्रविक्रम चन्द, बिप्लबलगायतले राम्रैसङ्ग अनुभव गर्नुभएको छ ।
पार्टी फुटको सिलसिलामा आफ्नो लिडरसिप,भावुक्ता अनि राजनितीक खेलाडीको चातुर्यताका लागि चर्चित प्रचण्डले पनि रोक्न सक्नुभएन । यो कामरेड प्रचण्डको बाध्यता थियो वा बिधि र पद्धतिको बिपरित थियोकी थिएन । त्यो कामरेड प्रचण्डको सफलता थियोकी असफलता भन्ने राजनीतिक भाषामा बुझ्न गाह्रो भएपनी सामान्य भाषामा सबैले बुझ्न सकिन्छ ।
अब आयो सरकार प्रमुखको दायीत्व कसरी निभाउनु भयो भन्ने सबाल । पहिलो त सरकार प्रमुख हुदा बढी महत्वकाक्षाका साथ बिचार नगरी प्रधान सेनापति र पशुपतिनाथको भट्टसँग जुध्न खोज्दा प्रधानमन्त्रीबाट हात धुनु पर्ने अवस्था आयो ।
प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकाल पनि त्यति सहज रहेन । त्यति बेलाको नाकाबन्दीको अडानबाट राष्ट्रियताको सबालमा हाइहाइ कमाएका केपी ओलीलाई हटाएर लिएको आसनले गर्दा त्यतिबेला प्रधानमन्त्रीको आलोपालोको नजिरलाई मुद्दा बनाएपनी त्यो छायामा पर्यो र क्रान्तिकारीको बिल्लाबाट दक्षिणपन्थी बिल्लाको नजरले हेर्न जनता बाध्य भए । यी दुबै कार्यकालमा लोडसेडिङ्गमा कुलमानको भुमिकासँगै जनार्दन शर्माले श्रेय पाएपनि त्यो प्रचण्डले खासै क्यास गर्न सकेनन । अरु राष्ट्रिय हित सम्बन्धि सम्झौता र दीर्घकालीन योजनाहरु त शुन्य नै रहे ।
अर्का नेता माधबकुमार नेपाल पनि २०५० सालमा मदन भण्डारीको हत्या पछि महासचिब र मनमोहन अधिकारीको मृत्युपछि अध्यक्ष सरहको महासचिव भएर लगातार झण्डै १५ बर्ष सम्म एकलौटी नेतृत्व गर्दा पनि २०६५ सालमा पार्टीको सर्वनाक हार भएपछि महासचिबबाट राजिनामा दिन बाध्य हुनुभएको हो । मदन भण्डारीको नेतृत्व, योगदान, लोकप्रियता र मनमोहन अधिकारीको इमानदारीताको राजनीतिक पृष्ठभूमिले गर्दा लगातार बहुमत ल्याउन सफल नेपाली काङ्गेसलाई पनि पछाडि पार्दै २०५१ मा पहिलो दल बन्न सफल भएको थियो । त्यस पछाडी उहाँले बागडोर सम्हालेपछिका कार्यकालमा महाकाली सन्धिको विवादमा सिपि मैनाली र बामदेब गौतमले पार्टी फुटाल्न बाध्य भए । काङ्ग्रेसको आन्तरिक कलहको बबजुद पनि एमालेले त्यतिबेला कहिले पनि बहुमत ल्याउन सकेन । त्यति बेलाको कथाहरु सम्झदा पनि अचम्म नै लाग्छ । कहिले लोकेन्द्र बहादुर चन्दको १२, १३ सिटे पार्टीले गोटी बनाउन सफल भयो त कहिले तत्कालीन राजा ज्ञानेन्द्रको पाउमा पैसा चढाएको दृश्यले पार्टी बदनाम हुँदै गयो ।
माधब नेपालले पार्टी सम्हाल्दै गर्दा पार्टी भित्र विधि र बिधान र पद्धति कस्तो थियो । सिपि मैनाली अहिलेका उहाँकै सहयात्री बामदेब गौतम, झलनाथ खनाललाई पनि राम्रैसँग जानकारी छ । चुनाबमा सानो सानो हार हुँदै सर्बनाक हार पनि वहाकै कार्यकाल मै भएको देखियो । अब उहाँलाई सफल मान्ने हो कि असफल ? यस्को जिम्मा उहाँकै सहयात्री रघुजी पन्त, अष्टलक्ष्मी शाक्य देखि स्थायी कमिटी कामरेडहरुलाई छोडिदिउ । माधब नेपाल प्रधानमन्त्री हुँदा मैले देशको लागि सम्झन योग्य काम यो गरे भनेर एउटा मात्र काम उहाँको डायरीमा कैद भए होलान तर जनताको डायरीमा देख्ने मौका पाइएन । अब कत्तिको सफल हो कि असफल यस्को जिम्मा भिम रावल कामरेडलाई छोडिदिउ ।
अब पालो झलनाथ खनालको । उहाँ पनि ४१\४२ साल देखि ४४\४५ साल तिर पनि महासचिब हुनुभयो । त्यस पछाडि ६६ सालमा त केपी ओलिलाई हराएर छ बर्ष बागडोर सम्हालेकै हो । प्रधानमन्त्री पनि बनेकै हो । कथा बेथा उहाँको पनि उहीँ र उस्तै उस्तै हुन । उहाँको कार्यकाललाई सफल असफल के भन्ने हो यस्को जिम्मा माधब कुमार नेपाल, बामदेब गौतम र उहाँ आफैलाई दिँदा हुन्छ । उहाँको अरु जिम्मा लिने मान्छे पनि खासै देख्दिन ।
मैले यो लेख लेख्दै गर्दा केपी ओलीलाई सफल देखाउनको लागि फालिएको तुरुप त हैन भन्ने भान कसैलाई पर्न जाला । यो कदापी हैन । केपि ओलीका पनि गल्ती अनेक छननै । तर पनि उनले पार्टी हाक्दै गर्दा पहिलो प्रधानमन्त्रीत्वकालमा नाकाबन्दीको सबालमा भारतसङ्ग दर्हो आडान लिएर नझुकेकै हुन । नेकपा एमाले र माओबादीलाई एक बनाउन सफल भएकै हुन । यसमा केपी ओली र प्रचण्डको समान भुमिकालाई नजर अन्दाज गर्न मिल्दैन । गत चुनाबमा प्रचण्ड, माधब, झलनाथ र बामदेबहरु आफ्नै क्षेत्रमा सिमित रहेर चुनाब लडिरहँदा, केपी ओलीले देशब्यापी चुनाबी माहोललाई तताएर पार्टीलाई दुई तिहाइ नजिक पु¥याएकै हुन् ।
यहि कार्यकालमा राजा महेन्द्रले र अरु कुनै पनि नेताले गर्न नसकेको चीन सङ्गको पारबहन सम्झौता गर्ने आँट गरेकै हुन । लिम्पियाधुरा सहितको भुभाग समेटेर नेपालको नक्सा जारी गर्ने सहास गरेकै हुन । नागरिकता बिधेयक सम्बन्धि ऐनलाई संसदीय समितिबाट पारित गराएकै हुन । तर पनि दुई तिहाइ नजिकको स्थायी सरकारबाट तत्काल जनताले पाउने राहतको अनुभुती गराउन बाट चुकेकै हुन ।
भ्रष्टाचारलाई शुन्यमा झार्ने वकालत गर्दै गर्दा यस्तो माहामारीको संबेदनसिल घडिमा पनि हड्डीको सिनो चुसेझै भ्रष्टाचार गर्नेलाई रोक्न नसकेकै हुन । पार्टी भित्र पनि सबैलाइ समेटेर लान सक्ने ल्याकत हुदाहुदै अलिकति अहमता देखाएकै हुन । जङ्गलको भालुलाइ त घरमा ल्याएर आफ्नो बनाउन सकिन्छ भने आफ्नै सहयात्रीलाई मिलाएर लैजाने काममा आत्मा फराकिलो बनाउन नसकेकै हुन । तर पनि यी समग्र कुराहरुलाइ केलाएर हेर्नू पर्दा विपक्षी पार्टीको हकमा बोल्न जाएज भएपनी आफ्नै पार्टी भित्रका ४ पाण्ड्बहरुको हकमा के पी ओलीले सरकार र पार्टी असफल बनाए भनेर शंख फुक्दै हिड्नुको तुक केही पनि छैन ।
तत्कालको भ्रष्टाचार र जनताले पाएका दुख, कोरोना माहामारीमा सरकार छ भनेर महसुस गर्नबाट बन्चित हुनु परेका गरिब मजदुर, सामान्य नागरिकको पीडामा मलम लगाउन नसके पनि केही बिकासे काम दिर्घकालिन योजना र केही राष्ट्रहितको बारेमा गरेका सहासिक सम्झौताहरुलाई पक्कै पनि नजरअन्दाज गर्न मिल्दैन । आफ्नो राजनीतिक तुच्छ स्वार्थलाई लिएर राजनीतिमा ट्परे कुराहरुलाई उचाइमा पुर्याएर दुई चार दिन खेल खेल्न र खेलाउन त सकिएला तर त्यसले पार्टी मात्र नभएर राष्ट्र पनि भुमरीमा फस्न सक्छ र त्यो भुमरीमा हामी पनि पर्न सकिन्छ भन्ने ख्याल सबैले राख्नु जरुरी हुन्छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने लहड चलाउँदा त्यस्को सहि कारण र भरपर्दो विकल्प पनि त चाहिएला । तपाईं घर ४ पाण्डबको ताण्डब लिलाको इतिहास पनि सबैले जानेकै छ्न । यो जटिल समयमा केपीको राजिनामा मागेर जग हसाउनु अवश्य पनि उचित होइन ।
केपी ओलीलाई हटाएर फेरि पनि पदलोलुपलाइ एकछिनको स्वाद लिने रहर हो भने यो जान्नुस कि केपी ओली यस्तो खेल खेल्न तपाईंहरु भन्दा ४ कदम अगाडि छन । यस खेलमा न रहेगा बाँस न बजेगा बासुरीको मोडमा गयो भने यसलाई कसैलाइ पनि हित नगर्ला । यसमा सबै संयमित हुनुको विकल्प छैन ।
केपी ओलीलाई हटाएर फेरि तपाईहरु नै प्रधानमन्त्री, राष्ट्रपति र अध्यक्षको र्याल चुहाउनुको केही तुक देखिदैन । बरु तपाइहरु अभिभावकको भुमिका निर्बाह गर्दै दोस्रो र तेस्रो पुस्तालाई सुम्पिनको लागि सकारात्मक भुमिका खेल्न सके केही सहजता हाेला । र केपी ओलीले पनि आफ्नो इगोलाइ सम्हालेर पार्टीलाई बचाउनुको विकल्प छैन ।
नेकपाका लाखौं कार्यकर्ताको अन्तिम आशा पनि यहि हो । अहिलेको यो जटिल अबस्थामा छिमेकीहरुको हास्य पात्र बनेर होइन, फेरि पनि छिमेकीलाई खेल्न दिने ठाउँ नबनाउ । हाम्रो पार्टी सरकार र राष्ट्र एक जुट छ भन्ने सन्देश सारा बिश्वलाई दिनु नै हामी सबैको हितमा हुनेछ । तपाईंहरुमा पार्टीलाई अझै मजबुत र एक ढिक्का बनाउने सोच श्री पशुपतिनाथले प्रदान गरून् ।