काठमाडौं । सरकारले आकस्मिक रुपमा संघीय संसद्का दुवै सदनको चालु वर्षे अधिवेशन अन्त्य गरेकोप्रति विपक्षी दलहरुले आपत्ति जनाएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा (बिहीबार) आज साँझ ५ बजेदेखि लागू हुनेगरी संसद्को बजेट अधिवेशन अन्त्य गरेकी हुन् । नेपाली काँग्रेसले संसद अधिवेशन अन्त्य गरिनुलाई दुःखद् भनेको छ ।
नेपाल कम्युनिस्ट पार्टीले आफ्नो आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसकेर संसदको अधिवेशन अन्त्य गर्नु दुःखद् रहेको काँग्रेस सांसद मिनेन्द्र रिजालको भनाई छ । असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले प्रधानमन्त्री केपी ओली राजीनामा दिन माग्दै आएका छन् ।
त्यही अनुसार दुबै पक्षमा आफ्नो आन्तरिक रणनीतिमा जुटेपछि प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेको उहाँको बुझाइ छ ।
संसद अधिवेशनबारे सरकार पक्षले आफूहरुलाई कुनै जानकारी नदिएको उहाँले बताउनुभयो ।
यस्तै काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृण खाँणले पनि संसद अधिवेशनको अन्त्यको सिफारिस गर्दा आफूहरुलाई सामान्य जानकारीसम्म नआएको बताउनुभयो ।
पार्टीको आन्तरिक कलह र दम्भमा संसद अधिवेशन अन्त्य गरेर सरकार जनताको समस्या सुन्नबाट भाग्न खोजेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । यस्तै जनता समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले यसलाई अधिकारको दुरुपयोगको संज्ञा दिनुभएको छ । सरकार निरंकुशतातर्फ गइरहेको उहाँको भनाई छ ।