Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्थानीय तह निर्वाचनमा हाम्रो पार्टीले ठूलो सफलता प्राप्त गर्छ :  माधव नेपाल

स्थानीय तह निर्वाचनमा हाम्रो पार्टीले ठूलो सफलता प्राप्त गर्छ :  माधव नेपाल

  • सोमवार, फाल्गुण २३ २०७८

  • 678
    SHARES

  • स्थानीय तह निर्वाचनमा हाम्रो पार्टीले ठूलो सफलता प्राप्त गर्छ :  माधव नेपाल

    काठमाडौं – सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गरेका छन् । सोमबार रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुलाई काठमाडौंमा स्वागत गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तह निर्वाचनमा अन्य पार्टीहरूसँग तालमेल गरी ठूलो सफलता हात पार्ने बताएका हुन् ।

    पार्टीले आगामी चुनावमा केन्द्रीत भएर टोल–टोलमा संगठन विस्तार र परिचालनमा लागेको पनि उनले बताए । अध्यक्ष नेपालले भने– ‘हामी आगामी चुनावको तयारीलाई फोकस गरेर, केन्द्रविन्दुमा राखेर त्यसको निम्ति प्रत्येक पालिका–पालिकामा राम्रो तयारीको काममा जुट्दै, कमिटी बनाउँदै, वडा, टोलटोलमा पनि पार्टीको कमिटीहरूको बिस्तार गर्दै चुनावसम्बन्धी परिचालन कमिटी पनि हामी बनाउँदै जानेछौँ । र जो जो सँग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्याधिक ठुलो सफलता हासिल गर्ने विश्वासका साथ जुटिरहेका छौँ ।’

    यसैबीच, नेकपा एकीकृत समाजवादी० को सोमबार पोलिटब्युरोको प्रथम बैठक काठमाडौंस्थित एक ब्याङ्क्वेटमा जारी छ । पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

    बैठकले २५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने उनले बताए । उनले भने– ‘२५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ । नीति तय गर्नेछ । पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । राजनीतिक प्रतिवेदन र आगामी कार्ययोजना सहितको प्रतिवेदनमा समावेश गरिएको छ । तिनै विषयमा छलफल हुनेछ । सामान्यतया राय, सल्लाह, सुझाव लिइनेछ । नीतिगत मार्गदर्शन प्राप्त गरिनेछ । त्यसैलाई परिमार्जन गरेर पार्टीको केन्द्रीय कमिटी बैठकमा यसलाई लगिनेछ । अब हामी मुलरुपमा आगामी आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्तिलाई केन्द्रीकृत गर्नेगरी लाग्नेछौँ । देशको राष्ट्रिय राजनीतिमा हाम्रो भुमिकालाई प्रभावकारी बनाउनको निम्ति आवश्यक नीतिहरु अवलम्वन गर्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ । हामी न झुक्छौँ न बहकिन्छौं । हामी झुक्दा पनि झुक्दैनौँ । बहकिँदा पनि बहकिँदैनौँ । राष्ट्रहितलाई केन्द्रविन्दुमा राखेर काम गर्छौ भन्ने हाम्रो नीति छ ।’


    उनले भने, ‘एमसीसीलाई संसदबाट व्याख्यात्मक घोषणाका साथ पारित गरिसके पश्चात पार्टी राजनीतिमा उत्पन्न भएका विभिन्न प्रकारका तरंगहरुलाई विश्लेषणात्मक ढंगले व्याख्या गरेर सुनाउने र कार्यकर्तालाई एकतावद्ध भएर अगाडि हिँडाउनका निम्ति प्रयास गर्ने, यो कुरा त्यसमा परेको छ । यसैगरी स्थानीय तहको निर्वाचनमा सशक्त ढंगले पार्टीलाई अगाडि बढाउनको निम्ति कार्यकर्ताहरूले अत्यन्तै छोटो समयमा आफ्ना संगठनात्मक कामहरु व्यवस्थित गरिसक्नुपर्ने भन्ने निर्देशन त्यसमा छ । अबको सम्पूर्ण समय स्थानीय तह निर्वाचनकै लागि हो ।’


    प्रवक्ता खतिवडाले कार्यकर्ताहरूलाई एकतावद्ध बनाएर आसन्न स्थानीय तहको निर्वाचनमा परिचालन गर्नु नै पार्टीको अहिलेको मुख्य काम भएको बताए ।


    सोमवार, फाल्गुण २३ २०७८०४:४०:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij