काठमाडौँ । आज शेर्पा समुदायको पर्व, ग्याल्पो ल्होसार । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गर्छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।
पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै राष्ट्रिय सामथ्र्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताउनुभएको छ । ग्याल्पो ल्होसारका अवसरमा शुभकामना सन्देश दिँदै पर्वका माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भई हाम्रो बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने बताउनुभएको छ ।
यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताउनभुएको छ । ल्होसारको अवसरमा शुभकामना दिँदै उहाँले शेर्पा समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेशभूषासहितको विशिष्ट पहिचान रहेको उल्लेख गर्दै ल्होसार आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको पर्वका रूपमा रहेको बताउनभुएको छ ।
यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देशमार्फत नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्नुभएको छ । यहाँ हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भएको भन्दै उहाँले सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले सरकार अल्पसङ्ख्यक र सिमान्तकृत समुदायको अधिकारलाई सुनिश्चित गर्न तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्वद्र्धनका लागि सदैव क्रियाशील रहेको बताउनुभएको छ ।