Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images
एमसीसी साइडइफेक्ट

पार्टीभित्र अन्तरसंघर्ष चर्किरहेका बेला नारायणकाजीलाई विप्लवद्वारा एकताको प्रस्ताव

पार्टीभित्र अन्तरसंघर्ष चर्किरहेका बेला नारायणकाजीलाई विप्लवद्वारा एकताको प्रस्ताव

नारायणकाजीलाई फकाउने प्रयासमा प्रचण्ड, आज पनि छलफल हुँदै
  • बुधवार, फाल्गुण १८ २०७८

  • 851
    SHARES

  • पार्टीभित्र अन्तरसंघर्ष चर्किरहेका बेला नारायणकाजीलाई विप्लवद्वारा एकताको प्रस्ताव

    काठमाडौँ । एमसीसी अनुमोदनपछि माओवादी केन्द्रभित्र अन्तरसंघर्ष चर्किरहेका बेला नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी नेता नारायणकाजी श्रेष्ठलाई पार्टी एकताको प्रस्ताव गर्नुभएको छ । एमसीसी अनुमोदनको विपक्षमा उभिनुभएका वरिष्ठ नेता श्रेष्ठलाई विप्लवले पार्टी एकता तथा सहकार्यको प्रस्ताव गर्नुलाई महत्वका साथ हेरिएको छ ।

    एमसीसी अनुमोदनपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट रहँदै आउनुभएका नेता श्रेष्ठलाई भेटन विप्लव हात्तिवन पुग्नुभएको थियो । भेटमा श्रेष्ठले महासचिव विप्लवसँग असहमतिबीच माओवादी केन्द्रमा बस्न गाह्रो हुने बताउनुभएको थियो । विप्लव निकट एक नेताका अनुसार एमसीसीमा प्रचण्डले धोका दिएको श्रेष्ठले सुनाउनुभएको थियो ।

    प्रचण्डले मात्रै नभइ एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले पनि एमसीसीमा धोका दिएको नेता श्रेष्ठले बताउनुभएको थियो । पार्टी एकता तथा सहकार्यका लागि विप्लवले राखेको प्रस्तावमा श्रेष्ठले सकारात्मक जवाफ दिएको बताइएको छ । एमसीसीबारे श्रेष्ठ र विप्लवको एकै लाइन रहेको छ । दुवै एमसीसीको विपक्षमा उभिएका छन् ।

    अध्यक्ष प्रचण्डले सोमबार आफ्नै निवासमा गरेको पत्रकार सम्मेलनमा नारायणकाजीलाई वामदेव गौतमसँग तुलना गर्दै पार्टी छाडेर जान सक्ने बताएपछि श्रेष्ठ चिढिनुभएको हो । पूर्व एकता केन्द्र समूहका नेतासमेत रहनुभएका श्रेष्ठले पार्टीबाट विद्रोह गर्न सक्ने सङ्केत पाएपछि प्रचण्ड हिजो उहाँलाई भेट्न हात्तीवन पुग्नुभएको थियो । तर दुई नेताहरूबीच मन माझामाझ नभएपछि प्रचण्डले आज फेरि श्रेष्ठसँग छलफल गर्ने बताइएको छ ।

    शुक्रबारको केन्द्रीय कमिटी बैठकमा आफूहरुको असन्तुष्टिबारे कुरा राख्ने श्रेष्ठनिकट नेताहरुले बताएका छन् । पार्टीमा महासचिव लगायतका पदाधिकारीहरू छान्न शुक्रबार माओवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । तर, सो बैठकमा एमसीसी प्रकरणले उग्र रूप लिन सक्ने सङ्केत देखिएको छ ।

    यसअघि माओवादी केन्द्रको महाधिवेशनले संशोधनविना एमसीसी पारित नगर्ने निर्णय गरेको थियो । तर, व्याख्यात्मक घोषणाका आधारमा एमसीसीलाई संसदबाट अनुमोदन गर्न प्रचण्ड तयार भएपछि नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, राम कार्की लगायतका नेताहरू यसको विरोधमा उभिएका छन् ।


    बुधवार, फाल्गुण १८ २०७८११:१४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij