काठमाडौँ । स्थानीय चुनावका लागि एक लाखभन्दा बढी संख्यामा म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीको संख्या आवश्यकताअनुसार नभएकोले चुनावको सुरक्षाका लागि म्यादी प्रहरी पनि राख्ने तयारी गरिएको हो ।
प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसँग समन्वय गर्दै म्यादी प्रहरी भर्ना लिने तयारी गरेको छ । विगतका चुनावमा पनि म्यादी प्रहरी राखिएका थिए । यस पटक करिब एक महिनाका लागि म्यादी प्रहरी राखिने छन् । म्यादी प्रहरीले २४ हजार तलब पाउँछन् भने पोशाक भत्ता पाँच हजार र खाजा सुविधा पाउने जनाइएको छ ।
म्यादी प्रहरीलाई जवान सरह सेवा, सुविधा दिने तयारी छ । म्यादी प्रहरी छनौट गरेपछि करिब १० दिन प्रशिक्षण दिने तयारी छ । सरकारले ०७९ वैशाख ३० मा एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने गरी मिति तोकेको छ ।
त्यसपछि निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाइरहेको छ । स्थानीय चुनावमा भाग लिन ८० दल दर्ता भएका छन् ।