काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक घोषणासहित पारित भएकोमा आफू निकै खुसी भएको बताउनुभएको छ ।
सोमबार आफ्नो निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफूले सुरूदेखि नै एमसिसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेकाले एमसिसी पारित हुँदा खुसी भएको बताउनुभएको हो ।
एमसिसीसँगै पारित भएको १२ बुँदे व्याख्यात्मक घोषणाको कानुनी हैसियत हुने भन्दै उहाँले यसले नेपालको राष्ट्रिय सुरक्षालगायत विषय स्पष्ट पारेको बताउनुभयो ।
एमसिसीका कारण शान्ति सम्झौता, संविधान र अहिलेको व्यवस्था नै उल्टिने जस्तो देखिएपछि आफूले व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याएको बताउनुभयो ।
यस्तो प्रस्ताव तत्कालीन नेकपाका अध्यक्षका केपी शर्मा ओलीका पालामा नै आफूले ल्याएको प्रचण्डको भनाइ छ । आफूले त्यो प्रस्ताव तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग राखेको बताउनुभयो ।
पछिल्लो समय पनि आफूले नै व्याख्यात्मक घोषणामार्फत् एमसिसी पारित गर्ने प्रस्ताव ल्याएको प्रचण्डले दाबी छ । आइतबार संसदबाट पारित भएको व्याख्यात्मक घोषणाको कानुनी हैसियत हुने उल्लेख गर्दै प्रचण्डले यो महाकाली सन्धीमा गरिएको संकल्प प्रस्तावजस्तो नभएको समेत बताउनुभयो ।