काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको एमालेले नै खण्डन गरेको छ । ओली र प्रचण्डका बीचमा हिजो भएको भेटवार्ताका क्रममा प्रचण्डले ओलीलाई प्रधानमन्त्री बनाउन सघाउने प्रस्ताव गर्नु भएको समाचार सार्वजनिक भएको थियो ।
“त्यो समाचार सरासर झुटो हो, त्यस्तो केही कुरै भएको छैन, हावादारी कुरा नपत्याउनु,” ओली र प्रचण्डको बैठकमा सहभागी हुनुभएका एमाले उपाध्यक्ष विष्णु पौडेलले भन्नुभयो । एमालेको अहिलेको प्राथमिकताको विषय नयाँ सरकार नभएको दावी गर्दै उहाँले सभामुख र नेकपा एसका १४ सांसदलाई काबाही नै एमालेको प्रमुख शर्त रहेको स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा पौडेलले संसद बैठकमा एमाले सहभागी बन्ने वातावरण बनेपछि मात्रै अन्य विषयमा छलफल हुने बताउनुभयो । एमसीसीका बारेमा एमालेको स्पष्ट धारणा रहेकोले एमालेले एमसीसीको बारेमा धारणा बनाएन भन्न नमिल्ने पनि उहाँको तर्क छ ।
“एमसीसीका बारेमा एमाले अनिर्णयमा छैन, एमालेको धारणा स्पष्ट नै छ, यस बारेमा निर्णय गर्न सत्ता पक्षलाई एमालेको आवश्यकता पर्दैन, त्यसैले हामी बोलिरहनु नपरेको मात्रै हो,” उपाध्यक्ष पौडेलले भन्नुभयो ।
प्रचण्डसँगको छलफलमा ओलीमाथी लगाइएको १९ पृष्ठ लामो आरोप फिर्ता लिएर माफी माग्नुपर्ने शर्त राखिएको उहाँले जानकारी दिनुभयो ।
“सभामुखलाई राजीनामा दिन लगाउनुस, संसद भित्र गएका अवैध सांसदहरुलाई कारबाही गराउनुस र त्यतिबेलाको १९ पृष्ठ लामो आरोपहरु फिर्ता लिनुस् भनेर हामीले भनेका छौँ, त्यस बाहेक अरु छलफल भएन,” एमाले उपाध्यक्ष पौडेलले भन्नुभयो ।