काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । हिजो बस्न लागेको संसद् बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गर्नुभएको थियो ।
त्यसपछि प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो । हिजो संसदमा अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदनका लागि बहुमत नपुग्ने देखिएपछि प्रधानमन्त्री देउवाले बैठक रोक्न लगाउनुभएको हो ।
आज बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा पनि एमसीसी समेटिएको छ । आजको संसद् बैठकमा पनि एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले नै प्रस्तुत गर्नुपर्ने सम्भावित कार्यसूची छ ।
गत आइतबारको संसद् बैठकमा सरकार एमसीसी प्रस्ताव टेबल गराउन सफल भए पनि अनुमोदन प्रक्रिया अघि बढाउन सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत नभएपछि प्रधानमन्त्री देउवा अप्ठेरोमा परेका छन् ।
सत्तारुढ यी दुई कम्युनिस्ट पार्टीले आफ्नो अडान नछाडेपछि एमसीसी पास गराउनकै लागि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी नेकपा एमालेतिर ढल्किनुभएको हो । एमालेका कतिपय माग पूरा गरेर तथा वर्तमान सत्ता गठबन्धन तोडेर भए पनि एमसीसी अनुमोदनको वातावरण बनाउन प्रधानमन्त्री देउवा लागि पर्नुभएको छ ।