काठमाडौँ । प्रतिनिध सभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी अनुदान सम्झौता एमसीसीबारे छलफल प्रारम्भ हुने भएको छ । बैठकमा एमसीसी प्रस्तावमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची सङ्घीय संसद सचिवालयले सार्वजनिक गरिसकेको छ ।
यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७७÷७८’ पेस गर्ने कार्यसूची राखिएको छ । संसद् सचिवालयमा दर्ता भएको अढाई वर्षपछि एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव गत आइतबार मात्र संसदमा टेबल गरिएको छ ।
आज एमसीसीबारे छलफल अघि बढेपनि तत्काल पारित हुने अवस्था छैन । एमसीसी संसदबाट पारित गर्न सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेस दलबलले लागिपरेको छ । तर सत्ता साझेदार माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले साथ नदिँदा कांग्रेसलाई एमसीसी सदनबाट पारित गराउन सकस परेको छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले राष्ट्रघाती बुँदामा संशोधन नभएसम्म एमसीसी पास हुन नसक्ने निष्कर्ष निकालेर विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् भने जनमोर्चाले खारेज नै गर्नुपर्ने भनेको छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने प्रमुख विपक्षीलाई दललाई साथ लिएर भए पनि एमसीसी जस्ताकोत्यस्तै सदनबाट पारित गर्नुपर्नेमा पक्षमा हुनुहुन्छ । त्यसका लागि उहाँले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पटक पटक छलफल गर्दै आउनुभएको छ । तर एमालेले पहिला गठबन्धन तोडेर सभामुखलाई हटाएपछि मात्रै एमसीसी पास गर्न साथ दिने बटमलाइन अघि सारेको छ ।